सक्कली मोदी ठानेर खुट्टा ढोग्न आए : मनोज गजुरेल

काठमाडौं । जब गाईजात्रा आउँछ, मनोज गजुरेलको चर्चा अझ बढी हुन थाल्छ । झट्ट हेर्दा खासै कमेडियन नलाग्ने साधारण स्वभावका गजुरेल नेपालमा मात्र हैन, विदेशी मिडियामा पनि बेलाबेलामा समाचार बनिरहन्छन् । गतवर्ष अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेर चर्चामा आएका थिए उनी ।

यही क्यारिकेचरले उनलाई पश्चिमी मिडियाले पनि स्थान दिए । भारतले गरेको नाकाबन्दीले देशमा मोदीको विरोध भइरहेका बेला उनले मोदीको क्यारिकेचर गर्दै व्यङ्ग्य गरे । कतिले त उनलाई वास्तविक मोदी नै भन्ठाने ।

पूर्वराजादेखि डोनाल्ड ट्रम्पसम्मको क्यारिकेचर गरेका मनोज गजुरेल पछिल्लो समय कमेडीसँगै सामाजिक अभियानमा पनि सक्रिय छन् । साथै केही फिल्ममा पनि देखिँदै छन् उनी ।

सामाजिक अभियान, राजनीतिमाथिको व्यङ्ग्य र सिनेमालाई एकसाथ लगिरहेका मनोजले खास गरी नेपाली राजनैतिक दलका चर्चित नेताहरुलाई व्यङ्ग्यका पात्र बनाउँछन् । उनको यो शैली निकै चर्चित पनि छ ।

नेताको चरित्रलाई जस्ताको तस्तै आफूमा उतार्ने गजुरेल भन्छन्, ‘प्राकृतिक रुपमा मेरो अनुहार धेरैसँग मिल्छ ।’

एक समय नेपालमा राजालाई भगवान मानिन्थ्यो । राजाको क्यारिकेचर गर्ने जमाना थिएन । राजाको क्यारिकेचरमा कुनै व्यङ्ग्य गरिएका थिएनन् । तर, मनोज गजुरेलले जोखिम उठाएर राजाको क्यारिकेचर गरे । जुन क्यारिकेचरले उनलाई हास्यव्यङ्ग्यको अझ उचाइमा पु–यायो । अहिले पनि धेरै हेरिने प्रहसनमा उक्त राजाको क्यारिकेचर भेटिन्छ युट्युबतिर ।

‘त्यतिबेलासम्म पनि राजामाथि व्यङ्ग्य भएका थिएनन्, मैले जोखिम उठाएकै हुँ ।’, उनले भने ।

मनोज गजुरेलले आफूलाई लालबाबु पण्डित, पुष्पकमल दाहाल, लोकमानसिंह कार्की लगायत कैयन् चर्चित नेताको अवतारमा प्रस्तुत भएका छन् । यी सबै क्यारिकेचरबाट उनले वाहवाही बटुलेका छन् ।

अहिले विदेशतिर हुने प्रहसनमा उनले ती चरित्रलाई पालैपालो स्टेजमा प्रस्तुत गर्छन् । कहिलेकाहीँ भने समस्या परिदिन्छ उनलाई ।

‘अमेरिकामा स्टेज प्रहसन गर्दै थिएँ, प्रचण्डको भूमिका गर्नुपर्ने थियो, प्रचण्डकै गेटअपमा थिएँ, हलभरि दर्शक थिए’, गजुरेलले रमाइलो किस्सा सुनाए, ‘प्रहसनमा प्रचण्ड बनेर भाषण दिइरहेको थिएँ, एक्कासी जुँगा खस्यो, अब के गर्ने? मैले एकैछिनमा निर्णय लिनुपर्ने भयो।’

जुँगा खसेपछि स्टेज छोड्न पनि पर्न सक्थ्यो । तर, उनले झ्याप्प निर्णय लिए र स्टेजमा प्रचण्डकै लबजमा भने, ‘अमेरिकामा किनेको यो जुँगा त यति कमजोर छ भने यहाँको साम्राज्यवाद कति कमजोर होला?’

उनीसँग यस्ता रमाइला किस्साको बैंक छ । बेलाबेलामा आफैलाई सम्झिँदा पनि रमाइलो लाग्ने गजुरेलले बताए ।

गजुरेल कमेडियन मात्र होइनन् । उनी लेखक पनि हुन् । आफूले गर्ने हरेक कार्यक्रमका स्किृप्ट उनी आफैले तयार पारिरहेका हुन्छन् । उनी स्वीकार्छन्, ‘हो, मेरा प्रहसन हिट छन्, किनकि म राम्रो लेखक पनि हो ।’

मनोजले अर्को घटना पनि सुनाए ।

‘एकपटक हामी कार्यक्रमका लागि स्याङ्जा पुगेका थियौँ, भारतीय मजदुरहरुले हामीलाई देखे, केही मजदुरले त मलाई सक्कली मोदी भण्ठानेर खुट्टा ढोग्न आए’, उनले थपे, ‘उनीहरुले त साँच्चिकै नरेन्द्र मोदी पो ठानेछन् मलाई ।’

उनीहरुले खुट्टा ढोगेर देशप्रेमका बारेमा बताउँदै थिए ।

गजुरेल हास्य चेत भएका नेताका रुपमा भने कृष्णप्रसाद भट्टराईलाई लिन्छन् । उनको बुझाइमा कृष्णप्रसाद भट्टराई चेत बुझ्ने नेता थिए ।

गजुरेलले प्रचण्ड बनेर पनि व्यङ्ग्य गरेका छन् । प्रचण्ड पनि व्यङ्ग्य पचाउन सक्ने नेता हुन् । ‘माधव नेपाल, शेरबहादुर देउवा लगायतका केही नेतालाई भने चेत पचाउन निकै गाह्रो हुन्छ ।’, उनले भने ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?