इंग्लिस प्रिमियर लिगमा चेल्सी, वाटफोर्ड र फुलह्याम विजयी

इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले संघर्षपूर्ण जीत हात पारेको छ । 

सेन्ट जेम्स पार्कमा आइतवारराति सम्पन्न भएको लिगको तेस्रो खेलमा चेल्सीले न्यु क्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफको ७६ औँ मिनेटमा चेल्सीका लागि  इडेन हजार्डले पहिलो गोल गर्दै क्लबलार्ई शुरुवाती अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । हजार्डले गोल गरे पछि निक्कै आक्रामक खेल खेलेको न्यु क्यासलका लागि जोसेलुले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा विलियनको फ्रि-किक बललाई क्लियर गर्ने क्रममा डि आन्द्र एडिनले आत्मघाती गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले २-१ गोल अन्तरले जित्यो ।

जीतपछि चेल्सीले ९ अंकका साथ लिगको दोस्रो स्थानमा छ । समान ९ अंक नै बनाएको लिभरपुल भने गोल अन्तरको आधारमा लिगको शिर्ष स्थानमा छ । 

त्यस्तै, आइतवारराति नै भएको अर्को खेलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले हरायो । वाटफोर्डको जीतमा खेलको ५३ औँ मिनेटमा पेर्रेरा र ७१ औँ मिनेटमा होल्बासले समान एक-एक गोल गरेका थिए ।

क्रिस्टल प्यालेसका लागि भने जाहाले एक मात्र सान्त्वना गोल फर्काए ।  यता, आइतवारराति नै भएको खेलमा फुलह्यामले बर्नलेलाई ४-२ गोल अन्तरले पराजित गर्‍यो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?