वामदेव गौतमकाे कटाक्ष – ‘प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो’

लोकपथ
70
Shares

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए। उनले एउटा अध्यक्ष प्रधानमन्त्रीको बिरुद्धमा अविश्वासको प्रश्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गर्नु कुनै हिसावमा उचित नभएको बताए ।

उनले पहिलो चरणमा अध्यक्ष दाहालको दोषका कारण नेकपा विभाजित भएकोप्रति लक्षित गर्दै फलस्वरुप ओलीले संसद बन्द गरेको बताए। सदस्य गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए। उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकोले आत्मलोचना गरेको बताउनु भयो । उहाँले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको खण्डमा कुनै हालतमा पार्टी विभाजन नहुने बताए । उनले भने, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव, त्यसको जवाफमा प्रधानमन्त्रीले संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने अर्को घटना, यी दुई वटै घटनामा हामी सहमत हुन सकेनौँ । मेरो विचारमा कोही पनि सहमत हुन नपर्ने हो, तर एकथरी कमरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । मलाई केपी ओलीजी र प्रचण्डजी दुवैले आफ्नो समूहमा बोलाउनु भयो । म आउँदिन भने । तर एकताको पक्षमा लाग्छु भने । म कतै जान सकिन । म कुनै पक्षमा जाने औचित्य थिएन । किनभने संसारभर नभएको आफ्नै पार्टी अध्यक्षकोविरुद्ध अविश्वासको प्रश्ताव राख्ने, त्यसको जवाफ अविश्वासको प्रस्ताव राख्ने संस्था नै ध्वस्त गर्ने, यस्तो किसिमको काम मान्य हुन सक्दैन थियो । धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने। मैलेपनि गल्ती गरेकै हो । मैले यदी पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ । माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो, ईश्वर, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रश्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ, उहाँहरुले अविश्वासको प्रश्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।’

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे। उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए । उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौज बसेको बताए ।

उनले भने, ‘२०७७ साल पुस ४ गते कमरेड प्रचण्ड र केपी ओलीको बीचमा वार्ता भइरहेको बेला मलाई पनि बोलाएका थिए । त्यहाँ कमरेड केपी ओलीले पार्टी एकताको निम्ति म के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको थियो । उहाँले मेरोविरुद्ध पार्टीभित्र जेजस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो, म प्रधानमन्त्री छोड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नुभएको थियो । साथै ममाथि लगाइएका संघीन आरोप फिर्ता लिनुपर्छ भन्नुभएको थियो । प्रधानमन्त्री फेर्ने कुरामा सहमत नै हुनुहुन्थ्यो प्रचण्ड तर आरोप फिर्ता नलिने अडान गर्नुभयो । मैले मान्नुस्, फिर्ता लिनुस् भने तर मान्नुभएन । केपीकै अगाडि प्रचण्डले मलाई यो सबै सिर्जना गर्ने तपाई हो, मेरो त नाम मात्रै राखेको हो, तपाईको राख्नुपर्ने हो भन्नुभयो म चुप लागेँ ।’

राष्ट्रिय सभा सदस्य गोतमले नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए। उनले कांग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाए। उनले एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए । उनले भने, ‘कांग्रेस र कम्युनिष्ट मिल्दा नयाँ युग ल्यान सकेका छौँ । तर कांग्रेसले मात्रै गरेका आन्दोलन सफल भएका छैनन् र कम्युनिष्टले मात्रै गरेका आन्दोलन पनि सफल भएका छैनन् । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी होइन । पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित हुन्छ । तर नेपाली कांग्रेसलाई नै नेतृत्व सुम्पिने हो भने एमसीसीजस्ता जति आउनुपर्ने हो आउँछन् । एमसीसीलाई संसदबाट अनुमोदन गर्नपनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य गर्नुभयो ।’

राष्ट्रिय सभा सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा नेपाली कांग्रेस आउँदो निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताए । कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले सथान पाउने भन्दै कम्युनिष्टहरु मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने तर कांग्रेसको नेतृत्वमा
सरकार बन्न दिनु नहुने बताए । उनले कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?