पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न दिने सहमति

लोकपथ
78
Shares

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा एमालेका नगर सदस्यहरुबीच छलफल भएसँगै बजेट पेश गर्न दिने सहमति जुटेको छ ।

नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको थियो । नगरसभाबाट बजेट पारित हुनुअगाडि नै बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै नगरसभा अवरुद्ध गरेका हुन्।

एमाले जनप्रतिनिधिहरुले बिरोध जनाएसँगै बजेट प्रस्तुतसमेत प्रभावित भएको छ । साढे ४ बजे सुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै बजेट पारित हुनुभन्दा अगाडि रातो किताब छापेको भन्दै आपत्ति जनाएका थिए । उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधानलाई कुल्चँदै र नगरसभा सदस्यको अधिकारलाई कुल्चँदै बजेट प्रस्तुतभन्दा अगाडि नै रातो किताब छापेकाले एमाले बजेटमा सहभागी नहुने बताए ।

त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताव किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताए । उनले रातो किताव किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताए ।

त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताव मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिए । उनले महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार मात्रै गरेको बताए।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए । उनहरुले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए । उनीहरुको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?