राष्ट्रिय एथ्लेटिक्स : सन्तोषी र मुकेशलाई स्वर्ण

लोकपथ
130
Shares

काठमाडौं । ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट ५७.७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् ।

१९औँ दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिना यता चोटग्रस्त थिइन् । राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ आर्मीकी पूर्ण लक्ष्मी न्यौपानेले ४ मिनेट ५८ दशमलव ०२ सेकेण्डकासाथ रजत पदक हात पार्दा एपीएफकी आशा राउतले ५ मिनेट ०५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै कास्य जितिन् ।

यसै प्रतिष्पर्धाको पुरुषतर्फ रजत जितेका एपीएफका अजित भण्डारीले दूरी पार गर्न ३ मिनेट ५८ दशमलव ८ सेकेण्डको समय खर्च गरे । कास्य पकद आर्मीका सुनिल सुनारले जिते । उनले ४ मिनेट ०१ दशमलव ७ सेकेण्डको समय खर्च गरे ।

नेपाल एथलेटिक्स संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागका खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?