एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

लोकपथ
221
Shares

काठमाडौं । बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको ।

सोमबार (६ असार) भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोखेका हुन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ कार्यसमितिको १३ सदस्य भित्र पर्न असफल भए । श्रेष्ठले ३७ भोट पाए ।

१३ सदस्यमध्ये ११ जना निर्वाचित भइसकेका छन् । बाँकी दुई पदमा भने चार सदस्यको बराबर मत (३९) प्राप्त हुँदा एन्फाको आगामी साधारणसभाबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

चुनावको केही महिना अघिसम्म निर्वाचित पंकजविक्रम नेम्बाङ प्यानल तर्फ देखिएका अनिल कर्माको शक्ति प्रदर्शनमा भने एक्कासि सदस्य पद घोषणासहित प्रस्तुत भए । यससँगै पंकज पक्षले आफ्नो समूहलाई अनिलबाट धोका भएको प्रतिक्रिया दिएको थियो ।

पछिल्लो सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादपछि अनिल तत्कालीन नेतृत्वसँग नजिकिएका थिए । सुरुवाती आन्दोलनमा ए डिभिजन लिग टिमलाई साथ दिएका अनिल अन्तिम समयमा नेतृत्वलाई सहयोग गर्न पुगेका थिए । तर, विपक्षी मानिएका पंकज पक्षले भने चुनावमा अनिलले आफ्नो समूहलाई नै समर्थन गर्ने विश्वास गरेका थिए ।

तर, राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक जिम्मेवारी पाउने आशामा अनिल कर्मापक्षमा खुलेरै लागेका थिए । तर, नतिजा न कर्मा तर्फ रह्यो । न त अनिलको पक्षमा नै आयो ।

त्यसैले चुनावी मतपरिणामको पूर्ण निर्णय नआउँदै बुढानिलकण्ठस्थित पार्क भिलेजमै ‘अफ्द रेकर्ड’ कुराकानीमा अनिलले आफू ‘डुबेको’ प्रतिक्रिया दिएका थिए । उनले एनएसएल विवाद र खेलाडी विवादमा आफू नराम्ररी चिप्लिएको गुनासो गरेका थिए ।

अनिलले सामाजिक संजालमा आफ्नो भनाई राखेसँगै राष्ट्रिय फुटबल टोलीका सदस्य तथा फरवार्ड विमल घर्ती मगरले ठट्यौली शैलीमा ‘हामीलाई त सजिलो थियो भन्नु हुँदै थियो त म्यानेजरज्यु’ भनेर प्रतिक्रिया दिएका छन् ।

एक प्रकारले विमलले त्यो भनाइ, आफु र आफ्नो सहकर्मी साथीविरुद्ध एन्फा नेतृत्व र क्लबले समर्थन नगरेकोमा खिल्ली उठाएका थिए । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँगको विवादका कारण विमल सहित मछिन्द्रका मात्रै चार खेलाडी राष्ट्रिय टिम बाहिर रहेका थिए ।

तिनै चार खेलाडी क्लबमा अनुबन्ध भएसँगै मछिन्द्रले पहिलो पटक सहिद स्मारक ए डिभजिन लिगको उपाधि जितेको थियो । क्लबले २०७६ र २०७८ को लिग उपाधि लगातार जितेको हो ।

यता, कर्मा समूहबाट नै उपाध्यक्षमा पराजित पूर्व खेलाडी उपेन्द्रमान सिंहले अनिलको पोष्टमा ‘नेपालको पोलिटिक्स गर्न राम्रो मान्छेले नसकिने र राजनीति आफैमा फोहोरी खेल’ भएको प्रतिक्रिया दिएका छन् ।

सिंहको कमेन्टमा आयुष घिमिरे नामबाट खेलाडीलाई अन्याय हुँदा खेलाडीको नाताले एक शब्द बोल्नु भयो ? भन्ने प्रश्नमा सिंहले कार्यसमितिमा बोल्ने कि फेसबुकमा बोल्न पर्ने भनेर उल्टो प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?