काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका हुन् । उनले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए । उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।
मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए । उनले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताए । उनले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गरे ।
अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रुपमा रहेको बताए । उनले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताए । मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गरे । उनले नेपाल चार्टड एकाउण्टेन्ट्स धेरै संस्थादेखि सरकारको राजश्व तथा करसँग समेत जोडिएकाले पारदर्शिताका साथ काम गर्दा मुलुकलाई योगदान पुग्ने बताए ।
त्यस्तै, महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताए । उनले यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताए । उनले अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताए । महालेखापरीक्षक शर्माले अब नयाँ प्रविधिको ज्ञान सीप सबै लेखा परीक्षकहरुले लिएर क्षमता अभिवृद्धि गर्न आवश्वयक रहेको बताए ।
महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको बताए । उनले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरेपनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताए। शर्माले अडिटरहरुले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्स संघले लेखा परीक्षणको सीप र ज्ञानको विषयमा स्थानीय तहका जनतालाई पुग्नेगरी प्रचारप्रसार गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया