प्रदेश ७ का कानूनमन्त्रीले भने, ‘दोषीलाई तत्काल कारबाही होस्’

कञ्चनपुर । प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले निर्मला पन्त र सनी खुनाका परिवारसँग भेटवार्ता गरेका छन् ।

उनले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया पन्तका परिवार र सोही नगरपालिकाको वडा नं १८ सालघारीका प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १४ वर्षीय खुनाका आफन्तसँग घरमै गएर आज भेटघाट गरे ।

भेटघाटका क्रममा मन्त्री शाहले पीडित परिवारसँग घटनाका बारेमा जानकारी लिनुका साथै प्रदेश सरकारका तर्फबाट दुवै परिवारलाई रु पाँच/पाँच लाखका दरले राहतस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी गराए ।

उनले उच्चस्तरीय टोलीले अनुसन्धान थालेकाले अपराधी उम्केर नजाने बताए । निर्मलाका बुबा यज्ञराज पन्तले मन्त्री शाहलाई राहतको रकमभन्दा दोषी पत्ता लगाई सरकारले लागू गरेको कानूनअनुसार कारबाही हुनुपर्ने बताए ।

“हामीलाई न्याय चाहिएको छ”, उनले भने “दोषीमाथि तत्काल कारबाही होस् ।” मन्त्री शाहले यसअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतसँग सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री शाहसँगै प्रदश नं ७ का प्रदेशसभा सदस्य र नेकपाका नेता लेखराज भट्टलेसमेत भेटघाट गरेका छन् ।

यसैबीच उच्चस्तरीय अनुसन्धान टोलीले समेत बालात्कारपश्चात् हत्या गरिएकी पन्तका परिवारसँग घटनाबारे जानकारी लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?