अन्तिम अभ्यास खेलमा नेपाल पाँच विकेटले विजयी, एशिया कप छनोट बुधवारबाट मलेसियामा शुरु

काठमाडौं ।  एशिया कप क्रिकेट छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अन्तिम अभ्यास खेलमा पनि जीत हात पारेको छ । 

आइतवार भएको खेलमा नेपालले श्रीलंकाको स्थानिय क्लब कोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको स्थानिय क्लब कोल्ट्सले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय १६ रनको योगफल तयार पारेको  थियो ।

कोल्ट्स क्लबका लागि हसन हेवानाइकेले अर्धसतकिय पारी खेले । उनले ६७ बलमा सर्बाधिक ५९ रनको योगदान दिए । त्यस्तै, याना श्रीवद्धनेले ३६ रन, कृषण नाथनले ३१ रन तथा ओपनर ब्याट्सम्यान विश्व चतुरगाले २४ रन जोडेका थिए । 

कोल्टु्सको पारी ध्वस्त पार्ने क्रममा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यता करन केशी र सागर पुनले समान २-२ विकेट झारे भने  ललित राजबंशीले एक विकेट लिए ।

जवाफी मैदानमा ब्याटिङ गरेको नेपालले  ४२ दशमलब ४ ओभरमा निर्धारित लक्ष्य पुरा ग¥यो । नेपालका लागि  कप्तान पारस खड्का र दीपेन्द्रले अर्धशतक पारी खेले।

पारसले ५८ रन बनाए भने दीपेन्द्रले नटआउट ५२ रन योगदान दिए । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडे। आरिफ शेखले २३ रन तथा सुवास खकुरेलले २२ रन जोडेका थिए । 

नेपालले यसअघि खेलेको पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानिय क्लब आर्मी क्रिकेट क्लबलाई ६७ तथा दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्रिकेट क्बललाई १ सय ७६ रनले पराजित गरेको थियो।

नेपाली क्रिकेट टोली भोलि ‘मंगलवार’ मलेसिया जादैंछ ।  नेपाली टोलीका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगमा आबद्ध भएका कारण उतैबाट मलेसिया आउनेछन् । 

यहि बुधवारबाट मलेसियामा शुरु हुने एशिया कप छनोटमा नेपालसहित युएई, हङकङ, आयोजक मलेसिया, ओमान र सिंगापुरले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?