१८ औँ ‘एशियाड’: भारत्तोलनमा ताराले बनाइन् तीन राष्ट्रिय कीर्तिमान

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

जेआइ एक्सपोमा आइतबार भएको खेलमा ताराले आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड तोड्दै  तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

उनले आफ्नै नाममा रहेको स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १ सय १ केजी तथा कुलमा १ सय ७५ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा स्न्याचमा ७३ केजीको कीर्तिमान थियो। 

क्लिन एन्ड जर्कमा ९७ केजी तथा कुलमा १ सय ७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो। तीनै कीर्तिमान ताराले गत जेठमा नेपालगन्जमा एशियाली  खेलकुदको छनोटमा बनाएकी थिइन् । 

क्लिन एन्ड जर्कमा उनले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन्। ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन्।

ताराको खेलसँगै नेपालको भारोत्तोलनको सबै प्रतिस्पर्धा सकिएको छ । 

भारत्तोलनमा ४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। यसअघि सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाएका थिए । यता, विकास थापाले भने राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?