जिसस रसुवा निर्वाचन : राजनीतिक दलको बठ्याइँमा निर्वाचन आयोगको गम्भीर हेल्चेक्रयाइँ

लोकपथ
10.8k
Shares

काठमाडाैं । रसुवामा जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस आमनेसामने हुँदा परिणाम भने गोलाप्रथाले निर्धारण गरेको छ । पाँच वटा मात्र पालिका रहेको रसुवामा जिल्ला समन्वय समितिको निर्वाचनको लागि दुबै पार्टीसँग पाँच–पाँच भोट रहेको थियो ।

रसुवामा आमाछोदिङमो गाउँपालिका, उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका र नौकुण्ड गाउँपालिका गरी पाँच पालिका रहेका छन् ।

आमाछोदिङमो र कालिका गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै, उत्तगया र गोसाइँकुण्ड गाउँपालिकामा भने एमालेले प्रमुख र उपप्रमुख दुबैमा जित निकालेको थियो । नौकुण्ड गाउँपालिकामा भने कांग्रेसले पालिका प्रमुख जितेको थियो र एमालेले उपप्रमुख जितेको थियो ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाको प्रमुख र उपप्रमुख मात्र मतदाता रहने व्यवस्था अनुसार यहाँ भोटको संख्या समान हुँदा गोलाप्रथा नै विकल्प बानेको छ ।

रसुवामा गोलाप्रथाबाटै जिससको प्रमुख, उपप्रमुख, दुई सदस्य र एक महिला सदस्यमा एमालेले जितेको छ । ९ सदस्य रहेको समितिमा अन्य ४ सदस्यमा भने कांग्रेस विजयी भएको छ ।

तर, रसुवामा एमालेले जितेको प्रमुख र उपप्रमुख पदमा विजयी भएका दुबै उम्मेदवार पुरुष हुन् । यहाँ निर्वाचन कार्यालय रसुवामाथी प्रश्न खडा भएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४)ले कुनै राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता  गराउँदा स्थानीय तहको प्रमुख र उपप्रमुख दुबै पदमा पुरुषलाई मात्र उम्मेदवार बनाउन नहुने व्यवस्था गरेको छ ।

तर, यहाँ एमालेले जिससको प्रमुख र उपप्रमुख दुबैमा कसरी जित्यो भन्ने विषयले चर्चा पाएको छ । प्रमुखमा विजयी भएका अशोक कुमार घिमिरे र उपप्रमुखमा विजयी भएका विजय लामा दुबै एमालेका उम्मेदवार हुन् ।

निर्वाचन कार्यालय रसुवाले कसरी दुबै पदमा पुरुषकाे उम्मेदवारी दर्ता गर्याे भन्नेमा नै अन्याेलता देखिएकाे छ । यहाँ निर्वाचन कार्यालयले नै स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४)लाई पालना नगरेकाे प्रष्ट देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?