१८ औँ ‘एशियाड’: चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ एशियाली खेलकुदमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । 

केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । 

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौँ स्थान हासिल गरेकी थिइन् । गत वर्ष लन्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् । 

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाइन् । 

शनिबार सम्पन्न पुरुषतर्फको म्याराथनमा जापानका हिरोतो इनाउले बहराइनकै एलहस्सन इलाबास्सीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?