पूर्वजनप्रतिनिधिलाई सिमकोट गाउँपालिकाको सम्मान

लोकपथ
13
Shares

हुम्ला । सिमकोट गाउँपालिकाले निवर्तमान गाउँपालिकाका जनप्रतिनिधिलाई सम्मान गरेको छ । संघीयता कार्यन्वयनको पहिलो निर्वाचिन स्थानीय तहका जनप्रतिनिधिहरूले पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै सिमकोट गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिकाको विकासका लागि निवर्तमान गाउँपालिकाको जनप्रतिनिधि पुर्‍याएको योगदानको कदर गर्दै सिमकोट गाउँपालिकाले सम्मान कार्यक्रम गरी सम्मान गरिएको हो । सिमकोट गाउँपालिकाले निवर्तमान सबै सदस्यलाई सम्मान गरेको वर्तमान अध्यक्ष विजय भण्डारीले बताए ।

कतिपय स्थानमा पूर्व र वर्तमान जनप्रतिनिधिबीच तिक्तता हुने गरेका बेला सिमकोट गाउँपालिकाले भने सम्मान कार्यक्रम आयोजना गरेको हो । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा पूर्वजनप्रतिनिधिले गाउँपालिकाका लागि पुर्‍याएको योगदान र आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा सम्झानाका लागि सम्मान गरिएको उनले कार्यक्रममा बताए ।

निवर्तमान जनप्रतिनिधिले गरेका रचनात्कम कार्यलाई अनुशरण गरेर अगाडि बढ्नेसमेत प्रतिबद्धताका साथ यसलाई आफूले कर्तव्य र दायित्वका रूपमा पनि लिएको नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले सीमित स्रोतसाधनका बाबजुद काम गर्नुपरेको गुनासो सुनाउँदै निवर्तमान अध्यक्ष पदमबहादुुर लामाले गाउँपालिकाको विकासका लागि सधैँ आफू सुुझाव सल्लाह दिन पछि नपर्ने बताए । उनले आफ्ना कार्यकालका केही अधुरा कार्यलाई निरन्तरता दिएर अगाडि बढ्न वर्तमान जनप्रतिनिधिलाई सुुझावसमेत दिए । सिमकोट गाउँ कार्यपालिकाका १४ जना सदस्यलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?