निर्मला हत्या प्रकरण : डीएसपीलाई जोगायो गृहले, एसपी विष्ट जेल जान सक्ने

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४२ वर्षीय दिलिपसिंह विष्ट निर्दोष साबित भए अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई ६ महिना जेल सजाय हुनेछ । 

नयाँ मुलुकी अपराध संहिताको दफा ९७ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न र गराउन नहुने कानुनी व्यवस्था गरेको छ । 

यदि कुनै पनि अपराधको अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाएमा सोही ऐनको उपदफा २  बमोजिमको कसुर अनुसार ६ महिनसम्म कैद, ५ हजारसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरेको छ । 

निर्दोष व्यक्तिलाई फसाउने वा बदनियतपूर्वक अनुसन्धान गरी दुःख दिने कार्य गरेमा उक्त सजायका अतिरिक्त त्यस्तो पीडित व्यक्तिमाथि कुनै किसिमको हानी नोक्सानी भएमा निजले त्यस्तो कसुरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने व्यवस्था ऐनले गरेको छ ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित उल्टेखामकी १३ वर्षीय बालिका निर्मला पन्तको असार १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो हत्यामा संलग्न अभियुक्त भन्दै प्रहरीले साउन २५ गते विष्टलाई सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसिक सन्तुलन गुमाएका विष्टले नै बालिका निर्मलाको बलात्कारपछि हत्या गरेको दावी गर्नुका साथै हत्या घटना अभियुक्त विष्ट स्वयम्ले स्वीकारेको बताइएको थियो । 

यदि अदालतबाट अभियुक्त भनिएका विष्ट निर्दोष साबित भए र हत्याराको रुपमा अर्कै व्यक्ति पक्राउ परेमा सजायको भागिदार प्रहरी उपरीक्षक विष्ट र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी अंगुर जिसी हुनेछन् ।

प्रहरीले नै विष्टलाई सार्वजनिक गरी उनी मानसिक रुपमा स्वस्थ नभएको समेत बताएको थियो । विष्टको पक्राउ आफैमा नाटकीय र वास्तविक अपराधिलाई लुकाउनका लागि भएको भन्दै स्थानीयले विरोध जनाएका थिए । 

निर्मलाका हत्यारालाई पक्राउ गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका स्थानीयमाथि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख विष्टले नै प्रहरी दमन गर्न लगाई गोली समेत चलाउन निर्देशन दिएको भनाइ गृह मन्त्रालयको छ । 

उक्त बलात्कारपछि भएको हत्या घटनामा विष्टकै छोराको नाम जोडिएपछि उनले घटना तोडमोट गर्न मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पक्राउ गरी थामथुम पार्न खाजेको पीडित परिवारको भनाइ छ ।

सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एसपी विष्टका छोराकी प्रेमिका भनिएका दुई युवतीलाई पक्राउ गरिसकेको छ । जुन युवतीको घरबाट निर्मलालाई एकाएक बेपत्ता बनाइएको थियो । 

सोही घटनाको अनुसन्धानमा खटेका सीआइबीका डिएसपी अंगुर जिसीलाई भने गृह मन्त्रालयले जोगाउने कार्य गरेको छ । जिसी कै कमाण्डमा खटेको प्रहरीले दिलिपलाई पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?