काठमाडौं उपत्यकामा चालकको लापरवाहीबाट ९० प्रतिशत दुर्घटना

काठमाडौं । काठमाडौं उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापरवाहीले हुने गरेको छ । 

आर्थिक वर्ष २०७४-७५ मा भएको छ हजार ३ सय ८१ दुर्घटनामध्ये चालकको लापरवाहीले मात्र पाँच हजार ९ सय ६१ दुर्घटना भएको छ । 

यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २ सय २१, यान्त्रिक गडबडी ४४, उछिन्दा (ओभरटेक) २९, पैदलयात्रुको लापरवाहीले तीन र सडकको अवस्थाका कारण ४८ दुर्घटना भएका छन् ।

दुर्घटनामा परी २ सय १९ गम्भीर र चार हजार ३ सय ३३ सामान्य घाइते भएका छन् । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकामा सवारी सङ्ख्या धेरै भएको र चालकले जथाभावी चलाउँदा धेरै दुर्घटना हुने गरेको जानकारी दिए । “बाटो साँघुरो, तीव्र गति र जथाभावी चलाउँदा धेरै सडक दुर्घटना हुने गरेको छ”,उनले भने । 

वाग्मती अञ्चलमा दर्ता भएका ११ लाख सवारी साधनमध्ये उपत्यकामा मात्र झण्डै आठ लाख सवारी साधन ओहोरदोहोर गर्छन् । आव २०७४-७५ मा मात्र सवारी दुर्घटनाका कारण १ सय ९४ जनाको मृत्यु भएको थियो । दुर्घटना भएका सवारी साधनमध्ये दुईपाङ्ग्रे सवारी साधन धेरै छन् । आव २०७४-७५ मा दुर्घटनामा मरेका १ सय ९४ मध्ये १ सय ४७ पुरुष र ४७ महिला छन् । कूल मृत्युमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनामा मात्र १ सय ११ छन् । 

तारकेश्वरमा प्रहरी अभियान 

स्थानीय तारकेश्वर नगरपालिकाका टोलटोलमा प्रहरी अभियानको शुभारम्भ गरिएको छ । नागरिक प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त बालाजु र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजुको संयुक्त आयोजनामा शनिबारदेखि उक्त अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख मनोज नेउपानेले नागरिकको घरदैलो पुगेर सुरक्षा सचेतना दिने, सुरक्षामा समन्वय र सहकार्य अभिवृद्धि गर्ने, अपराध अनुसन्धान तथा रोकथामजस्ता प्रहरी सेवामा प्रभावकारिता ल्याउन कार्यक्रमले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक संस्थालगायत नागरिक समाजको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे । नागरिक प्रहरी समन्वय समितिका संयोजक रामेश्वर देवकोटा, तारकेश्वरका उपप्रमुख भवानी डोटेल, तारकेश्वर–११का वडाध्यक्ष विन्दा बुढाथोकीलगायतले सुरक्षित समाज निर्माणका लागि प्रहरीसँगको सहकार्य सकारात्मक रहेकामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?