भीमदत्तनगरको अवस्था सामान्य बन्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरको अवस्था सामान्य बन्दै गएको छ । 

निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने मागसहित शुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शुक्रबार साँझदेखि भीमदत्त बजार क्षेत्रमा अनिश्चितकालिन कफ्र्यु लगाइएको थियो । 

कञ्चनपुरको भीमदत्तनगरमा गत असार १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सुरु भएको आन्दोलन चर्किंदै गएपछि प्रहरीले गोली चलाउँदा सनी खुनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आइतबार बिहान कञ्चनपुरको ब्रह्मदेवमा दाहसंस्कार गरिएको छ ।

स्थिति सामान्य बन्दै गएपछि आइतबार बिहान पाँच बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यू हटाइएको थियो । १० बजेपछि भने पुनः कर्फ्यू लगाइएको छ ।

स्वर्गीय सनी खुनाको परिवारलाई १० लाख रुपैयाँ र निर्मला पन्तको परिवारलाई पनि राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ। 

सरकारले अपराधीलाई पत्ता लगाएर कडा कारबाही गर्ने, शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउन, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको छ ।

घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समितिसमेत गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?