जिल्ला प्रशासनमा सेवाग्राहीकै पोसाक तोक्ने तयारी

काठमाडौँ – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसाधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । ‘कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो,’ उनले भने, ‘यसबारे केही निर्णय त भएको छैन, छलफल भने चलाएका छौं ।’

मर्यादित पोसाक भनेको कस्तो हो, त्योचाहिँ यकिन भइसकेको छैन । विस्तृत छलफलपछि पोसाक टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले शुक्रबार सेवाग्राहीलाई मर्यादित पोसाकमा आउन सूचना जारी गरेका छन् । मर्यादित पोसाकमा नआउनेलाई प्रवेशमै रोक लगाइने चेतावनीसमेत सूचनामा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?