रवी लामिछानेको पार्टीविरुद्ध अर्को पनि उजुरी, के भन्छन् उजुरीकर्ता ? (पत्रसहित)

लोकपथ
11.8k
Shares

काठमाडौं । रवी लामिछानेले दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

पार्टीको नाम स्वतन्त्र राख्दा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुलाई असर पर्ने भन्दै विभिन्न क्षेत्रमा आवद्ध अभियन्ताहरुले उजुरी दर्ता गराएका हुन् ।

स्वतन्त्र शब्दको आफ्नै महत्व रहेको र दलीय भिडबाट पर रहेको बताउँदै यसरी स्वतन्त्र शब्दलाई दलीय नाम दिँदा आफूहरुलाई असर पर्ने बताउँदै उक्त नामविरुद्ध रिट दायर गरेका हुन् ।

निवेदकहरुमा राजकुमार बजगाँई (राजानन्द मान्डब्य), पुस्कर ओझा, मनोज पण्डित लगायतले आयोगमा निवेदन दिएका हुन् ।

‘स्वतन्त्र शब्दको आफ्नै महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई अत्यन्त असहज परिस्थितीको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न हुनेगरी स्वतन्त्र शब्दको अर्थ नै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय गर्नुहुन अनुरोध गर्दछु ।’ निवेदनमा भनिएको छ ।

लामो समयदेखि आफूहरुले दलबाट स्वतन्त्र शब्द बचाएकोमा सो शब्दलाई राजनीतिककरण गर्न नहुने निवेदक मध्येका एक सांस्कृतिक अभियन्ता राजानन्द मान्डब्यले लोकपथलाई बताए ।

‘हाम्रो आपत्ति कुनै व्यक्तिले दल खोले भन्नेमा होइन । हाम्रो आपत्ति त्यो दलको नाममा भएको शब्दप्रति हो । हामीले लामो समयदेखि दलमा आवद्ध नभइ स्वतन्त्र नागरिकहरुलाई गोलबन्द गर्ने समूहमाथि नै त्यसले असर पर्ने हुँदा हामीले त्यसप्रति आपत्ति जनाएका हौँ ।’ उनले लोकपथसँग भने ।

यसअघि स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुले समेत लामिछानेको पार्टीको नामप्रति आपत्ति जनाउँदै निवेदन दिएका थिए ।

मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच लामिछानेले दलको घोषणा गरेका थिए । दल दर्ताको लागि निर्वाचन आयोग पुगेका उनले स्वतन्त्रहरुको भावना समेटिनेगरी पार्टीको नाम राखिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?