याद गर्नुभएको छ ? तीजका गीत सभ्य बन्न थालेका छन् नि !

काठमाडौं । एक दशक अघि जतिबेला क्यासेटको जमाना थियो, त्यतिबेला क्यासेटमा रेकर्ड गरिएका प्रायःगीतहरु कलात्मक, गहन र सुनुँ सुनुँ लाग्ने थिए । ती गीतमा विरह हुन्थ्यो, संस्कार हुन्थ्यो । भावना झल्किन्थ्यो ।

बीचमा भने निकै छाडा गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थाले । त्यो समयमा संगीतमा छाडापनको बहस त भयो नै । यस्ता गीत आउनुपर्छ भन्ने एक थरी भए भने अर्का थरी यस्ता गीतले समाज बिगार्छ बजारमा आउनु हुँदैन भन्न थाले । गीतमा विकृति भित्रिनुलाई कसैले ‘छाडापन’को परिभाषा दिए, कसैले ‘परिवर्तन’को भन्दै स्वीकार गरे ।

जे जसो होस्, अहिले भने यस्ता गीत निकै कम मात्र रेकर्ड भएका हुन्छन् । लोक सर्जकहरुको संघ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले काठमाडौंमा भएका रेकर्डिङ स्टुडियोलाई भेला गरेर छाडा गीत रेकर्ड नगराउन आग्रह गरेपछि यस्ता गीतमा कमी आएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले बताए ।

‘अहिले पोहोर परार जस्ता छाडा तीजका गीत सार्वजनिक गरिएका छैनन् । हामीले पहिलेदेखि नै यस्ता गीतलाई निरुत्साहित गर्ने भनेर लागि परेका थियौँ’, अध्यक्ष पंगेनीले भने, ‘अहिले धेरै राम्रा गीत रिलिज हुन थाले, बरु विविध विषय उठान गरेर गीत सार्वजनिक भए तर छाडा गीत निकै कम भएका छन् ।’

हुन पनि अहिले बजारमा छाडा गीतको सङ्ख्या हवात्तै गएको छ । कुनै बेला नेपाली लोकगीतमा यस्ता छाडा गीतले अरु गीतलाई पनि उछिनेको थियो । अहिले भने त्यस्ता गीतहरुको सङ्ख्या ज्यादै न्यून भएको छ ।

पूरै हटेको भन्ने चाहिँहोइन ।

बद्री पंगेनीले भने,‘छाडा गीतलाई निरुत्साहित गर्ने अभियान त प्रतिष्ठान कै अभियान हो, तर हामीले काठमाडौंका रेकर्डिङ स्टूडियोलाई धन्यवाद दिनैपर्छ ।’

लोकगीतमा भएको छाडापनलाई न्यूनीकरण गर्नका लागि चर्चित गायक तथा सर्जक विनोद बाजुरालीको संयोजकत्वमा एउटा टोली गठन भएको छ । बाजुराली लोकगीतमा अश्लीलता भन्दा ‘कला’ हुनुपर्ने भएकाले लोकगीतको छाडापन हटाउन आफूहरु लागिपरेको बताए ।

‘लोकगीत भनेको कलासँग मात्र होइन, समाजसँग पनि जोडिएको हुन्छ, गीतले गर्दा समाजमा पनि प्रभाव पारिरहेको हुन्छ’, बाजुरालीले थपे, ‘पछिल्लो समय गीतकाशब्दमा छाडापन र स्टेजमा अंगप्रदर्शनका कारण समग्रलोक संगीत क्षेत्रको नै बदनाम हुन थालेको छ, यो हट्नु आवश्यक थियो ।’

बाजुरालीले लोकतथा दोहोरी गीत प्रतिष्ठानको पहिलो बैठकमै छाडा गीतहरु हटाउनेबारे छलफल गरेको बताए । ‘हामीले काठमाडौंका धेरै रेकर्डिङ स्टुडियोलाई छाडा गीत रेकर्ड नगराउन आग्रह गरेका हौँ, उहाँहरुले पनि गीतको उत्थानका लागि प्रतिबद्धता जनाउनुभयो, हामी तयार छौँ भन्नुभयो ।’, उनले भने ।

अहिले रेकर्डिङ स्टुडियोले साथ दिँदा यस्ता छाडा गीत रेकर्ड हुन कम भएका छन् । तीजका गीत सुन्न सकिने खालका हुँदै गएका छन् । 

तर, छाडा गीत निकाल्ने कलाकारले भने यसको विरोध गर्न थालेका छन् । कतिले त अप्रत्यक्ष रुपमा गीत निकाल्न वाधापारेको भन्ने आरोप समेत लगाएको बाजुरालीले बताए । छाडा र उच्छृङ्खल गीत गाएर चर्चामा आउनुको साटो आफ्नो कला र खुबीले राम्रो गीत गाएर समाजमा स्थापित हुनुपर्ने बाजुराली बताउँछन् ।

‘हाम्रो समाजमा भएका गीत अश्लील हुँदा यसले सामाजिक मनोविज्ञानमा पनि असर पार्छ, व्यक्तिगत रुपमा एउटा पाटो भयो तर गीत सामाजिक कुरा पनि हो, समाजलाई असर पार्ने गीत गाइनु हुँदैन’, विनोद बाजुरालीले अगाडि थपे,‘छाडा गीतले हत्या हिंसा तथा बलात्कारका घटनालाई पनि प्रश्रय दिन्छन् ।’

समाजको मान्यता विपरीतका गीतहरु अहिले सार्वजनिक हुनु हुँदैन भनेर चाहिँ लामो समयदेखि आवाज उठ्दै आएको हो । यसका लागि एक जनाको मात्र आवाजले पुग्ने त होइन, तर पहिलेदेखि नै सीमित कलाकारले छानेर मात्र गीत गाउने गरेका थिए । कतिले लोक गीतमा पश्चिमी संस्कृति आउनुपर्छ भन्दै आवाज पनि उठाइ रहेका थिए । रेकर्डिङ स्टुडियोहरुले नै यस्ता गीतलाई रेकर्ड गर्न छोडेपछि गीतमा अश्लीलताको प्रयोग कम हुन थालेको छ ।

लोकगीतमा देखिएको शुद्धताले केही कलाकारलाई ठाडो घाटा परे पनि सम्पूर्ण समग्र लोकगीत क्षेत्रको विकास र सभ्यताका लागि भने प्रत्यक्ष फाइदा पु–याएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथागायक बद्री पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?