निर्मला हत्या आरोपमा बबिता र रोशनी पक्राउ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याको आरोपमा प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् ।  

शनिवार बिहान भीमदत्त नगरपालिका वडा नं. १८ स्थित आफ्नै घरबाट उनीहरुलाई प्रहरीले  पक्राउ गरेको हो ।  

गत साउन १० गते आफ्नी साथी रोशनीलाई भेट्न उनको घर गएका बेला निर्मला बेपत्ता भएकी थिइन् । 

दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए भने उनीहरुका बाबुआमा दार्चुलामा बस्थे । 

निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा बस्न थालेका छन् । 

दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

साउन १० गते बेपत्ता भएको निर्मलाको शव भोलिपल्ट बिहान उखुबारीमा फेला परेको थियो ।  

रातभरी पानी परेको भएतापनि निर्मलाका किताब भने पानीले भिजेका थिएनन् । यस्ता रहस्यमय तथ्यहरु खुल्दै जाँदा बम दिदीबहिनी पनि शंकाको घेरामा परेका हुन् । 

प्रहरीले यही विषयमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?