निर्मला हत्याकाण्डका अपराधीलार्इ कडा कारबाही गर्ने (ने.क.पा.) को निर्णय

काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्ड प्रकरण चर्कँदै गएपछि शनिबार बिहान बसेको सत्ताधारी (ने.क.पा.) को बैठकले दोषीमाथि कडा कारबाहीको निर्णय गरेको छ । 

कञ्चनपुरको शान्ती सुरक्षाका लागि गम्भीर कदम चाल्ने, घटना संलग्नताको अाशंका गरिएका सबैलार्इ अनुसन्धानको दायरामा ल्याउने तथा सामाजिक मूल्य/मान्यताको विरूद्धमा जाने जोसुकैलार्इ कडा कारबाही गर्न सरकारलार्इ सल्लाह दिने निर्णय भएको नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

शुक्रबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय बालक सन्नी खुनाको मृत्यु भएपछि कञ्चनपुर घटनाबारे गम्भीर नभएको भन्दै संघीय सरकारमाथि गम्भीर दबाब परेको थियो । त्यसलगत्तै, यही घटनाबारे छलफल गर्न भन्दै सत्ताधारी दल (ने.क.पा.) को बैठक बसेको हो । 

अपराधीलार्इ उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय समेत भएको (ने.क.पा.) का नेता श्रेष्ठले बताए । 

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अोली, अध्यक्ष पुष्पकमल दाहाल र राजधानीमा उपलब्ध सचिवालय सदस्यहरू सहभागी थिए । 

पार्टीकै सांसद भट्टको बेग्लै माग : घटनाको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन अावश्यक

पार्टीले कञ्चनपुर घटनालार्इ सामान्यीकरण गर्ने निर्णय गरिरहँदा सत्ताधारी (ने.क.पा.) का सांसद लेखराज भट्टले निर्मला हत्याकाण्डको अनुसन्धान हालको गृह मन्त्रालयस्तरीय टोलीबाट असम्भव भएको जनाएका छन् । 

तत्काल उच्चस्तरीय न्यायिक समिति गठन गर्न भट्टले प्रधानमन्त्री केपी अोली शर्मासँग माग गरेका छन् । 

'निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि र गत विहीबारका दिन गृहमन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरे पनि घटना झनै बल्झिन पुगेको छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानविन कमिटी अविलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु,’ भट्टको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?