कञ्चनपुरको आन्दोलनमा कसको घुसपैठ ?

काठमाडौँ– कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेको सरकारले दाबी गरेको छ ।  
उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।
आज राती अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा घुपसैठ भएको दाबी गरे । उनले आन्दोलनमा कसको घुसपैठ भएको भन्नेचाही खुलस्त पारेनन् ।
उनले दोषीलाई कारबाही गर्न सरकार गम्भीर रहेको भन्दै पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न पनि कञ्चनपुरबासीसँग अनुरोध गरेका छन् ।

शुक्रबार दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोले ज्यान गुमाएका छन् ।
 नगरपालिका क्षेत्रमै प्रहरीको गोली लागेर स्थानीय करिब १४ वर्षीय  सन्नी खुनाको ज्यान गएको छ ।
खुनाको पेटमा गोली लागेर अस्पताल लगिएपछि ज्यान गएको हो ।अस्पताल लगिएपछि उनको मृत्यु भएपछि शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखिदिएका छन् । बिहीबार भएको प्रदर्शन हिंश्रक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए । त्यसपछि सरकारले कञ्चनपुरका प्र।जिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा काठमाडौँबाट पठाएको थियो ।

काठमाडौँबाट प्रजिअका रुपमा तारानाथ अधिकारी र एसपीकारुपमा कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट किशोर मारिएका हुन् । प्रहरीको गोली लागेर अर्का युवक चेतन भट्ट घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । यो घटनामा कम्तिमा पनि १७ जना घाइते भएका छन् ।

मेयरको घर तोडफोड

यसैबीच प्रदर्शनकारीले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घर पनि तोडफोड गरेका छन् । प्रदर्शनले हिंसात्मक रुप लिएपछि मेयरको घरमा आगोसमेत लगाउन खोजिएको थियो । तर तत्कालै प्रहरी पुगेपछि घरमा आगो लगाउन दिए । प्रदर्शनकारीले विष्टको घरमा भने तोडफोड गरेका छन् ।

ट्राफिक र नगरपालिकामा पनि तोडफोड
प्रदर्शनकारीहरुले भीमदत्त नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालयमा तोडफोड गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ । नगरपालिका र मेयरको घर तोडफोड भएपछि प्रहरी अवस्था नियन्त्रण बाहिर गएको निचोडसहित गोली चलाएको हो । प्रदर्शनकारीले ढुंगामुडा गरेर अवस्था नियन्त्रण बाहिर लाने प्रयास गरेपछि गोली चलाउन बाध्य भएको जिल्लास्थित एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

यता स्थानीय प्रशासनले शुक्रबार अचानक आन्दोलन उठ्नुमा घुसपैठ भएको आशंका गरेको छ । जिल्लाको कमाण्ड सम्हाल्न नयाँ सीडीओ र एसपी आएको अवस्थामा अचानक आन्दोलन उठेर घटना भएपछि स्थानीय सुरक्षा अधिकारीले यस्तो आशंका गरेका हुन् । अर्कातिर सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम गर्न नपाउँदै रक्तपातपूर्ण भिडन्त भएको हो ।

कञ्चनपुरबाट किशाेर तामाङकाे सहयाेगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?