दोस्रो अभ्यास खेलमा नेपालको फराकिलो जित

काठमाडौँ– एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।

आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डक वर्थ लुईस नियमको आधारमा १७६ रनले विजयी बन्यो ।

नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार परेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।

यस्तै कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार शाहले १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको ब्लुमफिल्डले यो समाचार तयार गर्दासम्म १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ५५ रन जोडेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग यसकै घरेलु मैदानमा आगामी आइतबार खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?