कञ्चनपुर घटना नयाँ शिराबाट अनुसन्धान गर्छौं : प्रहरी उपरीक्षक कुबेर कडायत

भीमदत्तनगर । आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् । 

बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुग्नुभएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए । 

“घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् । 

गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ । “नयाँ प्रमुख जिल्ला अधिकारी र गृहको छानविन समिति अनुसन्धानका लागि यहाँ आउँदैछ,” प्रहरी उपरीक्षक कडायतले भने । 

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ ।

गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?