गृहमन्त्रीले भेटे कञ्चनपुरका घाइते अर्जुन भण्डारीलाई

काठमाडौं । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा आन्दोलन चर्किएपछि कञ्चनपुरमा बिहीबार प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् । 

शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर गृहमन्त्री थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउन ११ गते उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ५ जना घाइते भएका थिए । 

त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अस्पताल पुगेका गृहमन्त्री थापाले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन भण्डारीका आफ्नलाई दिए । 

गृहमन्त्रालयले घटनाबारे छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो । छानबिन समितिका ५ जनै सदस्यहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?