दोस्रो चरणको परीक्षा ‘सीबीटी’ आजबाट

काठमाडौं । ईपीएस कोरिया शाखाले दोस्रो चरणमा लिने कम्प्युरमा आधारित भाषा परीक्षा (सीबीटी) शुक्रबारबाट शुरु हुँदैछ । ईपीएस कोरिया शाखाले सीबीटी परीक्षाका लागि ३ हजार ३ सय ४ जना परीक्षार्थीको नामावली सार्वजनिक गरेको छ ।

दक्षिण कोरियामा काम गरी फर्केका नेपालीहरुलाई पुनः रोजगारीको अवसर प्रदान लिइने दोस्रो चरणको (सीबीटी) परीक्षा एक महिनासम्म सञ्चालन हुनेछ ।

उक्त परीक्षा पास गरे पुनः चार वर्ष १० महिना कोरियामा काम गर्न जाने अवसर प्राप्त हुने शाखाले जनाएको छ ।

परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

सीबीटी परीक्षा चार सेसनमा हुनेछ । पहिलो सेसन बिहान ९ बजेबाट, दोस्रो सेसन १०ः३० बजेबाट, तेस्रो सेसन १ बजेबाट र चौथो सेसन २ः३० बजेबाट सुरु हुने छ । तर, परीक्षार्थीहरु भने तोकिएको समयभन्दा आधा घण्टा अगाडि नै परीक्षा हलमा प्रवेश गरिसक्नुपर्ने छ ।

सीबीटी परीक्षा सुरु हुनुअघि ओरिन्टेसन क्लास हुनेछ त्यसमा परीक्षार्थीहरुले आफूले काम गर्ने क्षेत्र परिवर्तन गर्न पाउनेछन् । साथै कुनै कारणबस यो परीक्षामा सहभागी हुन नसकेमा पुनः परीक्षामा सहभागी हुने पाउने छैन ।

परीक्षार्थीहरुले सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य लिएर जानुपर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?