‘एशियाड’मा दक्षिण एशियाली राष्ट्रको प्रदर्शन कमजोर

काठमाडौं । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद ‘एशियाड’ बिहीवारसम्म आइपुग्दा नेपालले केही राष्ट्रिय कीर्तिमान बाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । 

भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु बाहेक अन्य स्पर्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । 

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १ सय ५८ केजी तौल बहन गर्दै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत भङ्ग गरेकी हुन् । 

अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा १ सय १९ केजी र क्लिन एन्ड जर्कमा १ सय ६० गरी कूल २ सय ७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । 

पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले बिहीवार नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए । 

छैँटो दिनको खेल चलि रहँदा नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस , तेक्वान्दो र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ । 

प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ । 

भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जितेको छ । जारी ‘एशियाड’मा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?