कञ्चनपुर तनाव ग्रस्त, अनिश्चितकालिन कर्फ्यू !

कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा आन्दोलन चर्किएपछि कञ्चनपुरमा ५ बजेदेखि कर्फ्यू आदेश जारी भएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीवार साँझबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रहरीले केही समयअघि गोलीसमेत चलाएको थियो,  दिनभर महेन्द्रनगर तनावग्रस्त बनेको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालयले लोकपथलाई जनाएको छ । 

प्रहरीले चलाएको गोलीमा ५ जना घाइते भएका छन् ।

बुधवार आन्दोलनमा उत्रेका स्थानीयवासीमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

साथीको घरमा पढ्न गएकी १३ वर्षीय बालिकाको हत्या भएको विषयलाई लिएर आन्दोलन शुरु भएको थियो ।

आन्दोलनकारीले प्रहरीले वास्तविक अपराधीलाई लुकाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नियन्त्रणमा लिएको भन्दै आन्दोलन गरिरहेका छन् ।

यसैबीच गृहमन्त्री मन्त्रालयले यस विषयको छानविन गर्न छानविन समिति गठन गर्ने भएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?