१८ औँ ‘एशियाड’: आर्चरीमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलबाटै बाहिरिए

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ ‘एशियाड’ अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलबाटै बाहिरिएका छन् । 

बिहीवार भएको अन्तिम १६ को खेलमा नेपालका मगर चीनका जु तियान्युसँग निक्कै प्रतिस्पर्धात्मक ६-४ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मगरले खेलको पहिलो सेट २६-२६ स्कोर बनाउँदै ड्र खेलेका थिए । त्यस्तै, दोस्रो सेटमा सुधारिएको खेल खेलेका उनले चीनका खेलाडीलाई २९-२७ स्कोरले पराजित गरे । तेस्रो सेट चीनका तियान्युले २९-२७ ले जिते ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको चौंथो सेटमा दुवै खेलाडीले २८-२८ स्कोर बनाउँदै बराबरी खेले । तर, अन्तिम सेटमा तियान्युले ३०-२५ स्कोरले नेपालका खेलाडीलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे ।

मगरले कुल १ सय ३५ अंक बनाएका थिए भने चीनका खेलाडीले १ सय ४० अंक बनाए । 

यसअघि बिहीवार नै भएको राउण्ड अफ ३२ मा नेपालका तिलकले भुटानका वाङदी लामालाई ६-० ले  पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका थिए । 

पहिलो सेट २७-२५ स्कोरमा जीत हात पारेका तिलकले दोस्रो सेट २६-२५ स्कोरले आफ्नो पक्षमा पारे । तेस्रो तथा अन्तिम सेटमा २९-२३ स्कोरको नतिजा निकाल्दै तिलकको प्रि-क्वाटरफाइनलको यात्रा तय गरेका थिए । 

छनोटमा ६ सय ४१ अंक जोड्दै ३७ औं स्थान हासिल गरेका तिलकले खेल अबधिभर राम्रो प्रदर्शन गरे ।

 

यसै स्पर्धामा सहभागी भएका अर्का नेपाली खेलाडी रोशन नगरकोटीले श्रीलंकाका सजीव डा सिल्भासँग ६-० ले पराजित भए । रोशन श्रीलंकाका सिल्भासँग  २७-२४, २८-२४, २७-२५ ले पराजित भए । 

यता महिलातर्फ ज्ञानु हङकङकी लाम शुक चिङ अदासँग ६-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन् । 

पहिलो सेट २७-२२, दोस्रो सेट २७-२३ र तेस्रो सेट २६-२१ ले गुमाउँदै ज्ञानुको एशियाड यात्रामा पूर्णविरामा लागेको हो । यसअघि ज्ञानुले छनोट चरणमा ५ सय ८६ अंक जोड्दै ५५ औं स्थानमा रहेकी थिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?