काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेजको पोशाक लगाएका विद्यार्थी माइक्रो बस चढे । बालाजुबाट बस चढेका उनीहरु एकछिन कोचाकोच बसमा असिनपसिन हुँदै उभिएका थिए । तर सोह्रखुट्टेको उकालो नकट्दै जाम भयो ।
झण्डै आधा घण्टा बसमै उभिए । जाम खुल्छ कि भनेर कुरे । नखुलेपछि हिँड्दै क्याम्पसतिर लागे ।
जाम केशरमहलसम्म थियो । बाटो पूरै जाम थियो । बसमा गर्मीले अत्तालिएका एक वृद्ध भन्दै थिए, ‘आज पनि जाम रैछ, के अगाडि बाटो बनाउँदै छ हो?’
बस चालकले अगाडि जाममा फसेका अर्को चालकलाई फोन लगाए । सोधे, ‘के को जाम हो यस्तो?’
चालकले फोन राख्दै ती वृद्धलाई सुनाए, ‘अगाडि बाटो बन्दै छ रे, अफिस टाइम नै पारेर किन बाटो बनाउनुपरेको होला?’

अफिस टाइममा सधैजसो जाम हुने लैनचौर एरियामा अहिले जाम हुने समय निकै लम्बिएको छ । काठमाडौंमा हुने बिमस्टेक बैठकको तयारीमा यति बेला लैनचौर एरियामा ‘अफिस टाइम’ पारेर सडक मर्मत भइरहेको छ ।
अरु बेला बढीमा आधा घण्टा जाम हुने सडक अहिले दुई घण्टासम्म जाम हुन थालेको छ ।

सरकारले काठमाडौंका मुख्य सडक मर्मत गरे पनि बाहिरी सडक निर्माणमा भने कुनै चासो देखाएको छैन । लैनचौरको बाटो हुँदै कार्यालय–डेरा गर्ने जागिरे मात्र होइन, एम्बुलेन्स, विद्यालय तथा कलेजका विद्यार्थीलाई पनि निकै मार परेको छ अहिले ।
हतार हतार हिँड्दै गरेका एक विद्यार्थी भन्दै थिए, ‘झण्डै एक घण्टा गाडीमा कोचिएर बसियो, तर जाम एक इन्च पनि नसर्ने देखेपछि हिँड्दै कलेज जाँदैछु ।’

उनीमात्र होइन, जाम नखुलेपछि धेरै पैदल हिँडेरै आफ्नो कामतिर जान थालेका छन् । इन्द्रचोकमा पसल गर्दै आएका सुरेश खनालले सुनाए, ‘अस्ति एकदिन त गाडी नै नआएर डेढ घण्टा हिँडेर घर जानुपरेको थियो, त्यो दिन पनि पूरै जाम थियो ।’
सडकका खाल्डाखुल्डी मर्मत गर्नु सह्रानीय काम भए पनि ‘अफिस टाइम’ पारेर सडक मर्मत गर्दा निकै तनाव बेहोर्नुपरेको यात्रुले गुनासो गरेका छन् ।
लैनचौरमा खाल्डाखुल्डी पुर्न लागिपरेका एक कर्मचारीले भने राति पानी आएर डिस्टर्ब गरेको र समयमै सक्नुपर्ने भएकाले यो समयमा पनि बाटो बनाउनुपरेको धारणा राखे ।
यता सर्वसाधारणले भने कार्यालय समयमा भन्दा बरु अन्य समयमा बाटो बन्द गरेर सडक निर्माण गर्न आग्रह गरेका छन् ।





तस्वीरः सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया