बाँकेमा रसायिनीक मल अभाव

बाँके : खेतीबालीमा राख्नुपर्ने बेलामै जिल्लामा रसायिनिक मल युरिया अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् ।

धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् ।

सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ । 

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ । 

कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए । “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उनले भने । 

उनका अनुसार भारतको कोलकातामा रोकिएको मल केही दिनमै भैरहवा हुँदै नेपालगञ्ज ल्याइनेछ । जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ मेट्रिक टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० मेट्रिक टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले जानकारी दिए । सहकारीमार्फत् अनुदानको मल बिक्री हुँदै आएको छ । 

जिल्लामा गतवर्ष १०३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेका थिए । कम्पनीले सहकारीलाई युरिया  ७८३, डिएपी दुई हजार २३३, पोटास एक हजार ६३३ रूपैयाँमा उपलब्ध गराउँदै आएको छ । आपूर्ति समितिको बैठकले उनीहरुको स्थान आधारमा भाडा निर्धारण गरेर बेच्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?