एसपीपीमा एमालेले सुशील कोइरालालाई मुछेको भन्दै सांसद पन्थको आपत्ति

लोकपथ
1.8k
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गरेका हुन् । कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दाबी थियो । सांसद पन्थले सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकीर गर्दै ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न पनि प्रमुख प्रतिपक्ष एमालेलाई चेतावनी दिए । उनले भने, ‘हाम्रा निष्ठावान नेता सुशील कोइरालालाई पनि त्यहाँ मुछ्ने काम भयो । जसको पालामा त्यो भएकै थिएन । त्यो एसपीपी भन्ने सम्झौंताको पत्राचार गर्ने कुरा सुशील कोइराला प्रधानमन्त्री भएको बेला भएकै थिएन । तर उहाँको नाम लिएर जनतालाई भ्रमित गर्ने कोसिसहरु भयो । म त्यसप्रति खेद प्रकट गर्न चाहन्छु । परराष्ट्र मामिलामा अव यो हामीले धेरैथरी प्रवृत्तिहरु हामीले देख्यौं । एउटा हतियार हुन्छ । उल्टोबाट पनि काटने, सुल्टोबाट पनि काट्ने । एउटै मान्छे धामी पनि हुन्छ, बोक्सी पनि हुन्छ भन्यौं । त्यो प्रवृत्ति पनि हामीले देख्यौं । कहिले टाउको चलाउने, कहिले पुच्छर चलाउने भन्ने पनि हामी कहाँ उखान छ । यी सबै कुराहरुलाई समेटने गरी हामी कहाँ त्यो खालको प्रवृत्तिहरु पनि देखियो । परराष्ट्र मामिलाका कुराहरुमा, कूटनीतिक मामिलामा हामीले धैर्यता राख्नुपर्ने त्यो पनि भएन । ती कुराहरुलाई हामीले ख्यालै नगरीकन अपराध आफैले गर्ने अनि अर्कोलाई चाँही पोल्ने के ? कूटनीतिक मर्यादा कायम राख्न हामी सबै लागौं ।’

सांसद पन्थले एमालेले सो प्रस्तावको विषयमा प्रतिक्रिया दिँदासमेत कूटनीतिक मर्यादा कायम राख्न नसकेको भन्दै आपत्ति जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?