सरकारी स्कुलमा पढे सुविधै सुविधा

काठमाडौं–सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ ।
मानव सुचकांकको दृष्टिकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ ।

कानुन आयोगद्वारा तयार पारिएको उक्त विधेयकबारे शिक्षा मन्त्रालयमा केही छलफल गरी केही परिमार्जनुसहित आइतबार संसदमा पेस गरिएको थियो । कानून र अर्थ मन्त्रालयको राय–सुझावसहित मन्त्रालयले उक्त मस्यौदालाई अन्तिम रुप दिएको थियो ।
विधेयकको २२ देखि २७ दफामा आधारभुत र माध्यामिक तहमा भर्ना भएका र पढ्दै गरेका विद्यार्थीलाई पाठ्यपुस्तक, पोशाक, दिवाखाजा, शैक्षिक सामाग्री र प्राथमिक स्वाथ्य उपचार लगायतका सेवा निःशुल्क दिने उल्लेख छ । विद्यार्थीलाई सबै सुविधा दिने जिम्मा स्थानीय तहलाई तोकिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?