आहा ! रारा र शे-फोक्सुण्डोकाे त्याे सुन्दरता…

लोकपथ
143
Shares

सुर्खेत । उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ।

यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र रहेको फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी मन्दिर, धो भ्याली र छार्का गाउँ सबैभन्दा बढी पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।

त्यस्तै उपल्लो डोल्पामा रहेका सबैभन्दा पुराना गुम्बाहरू पनि यहाँको मुख्य आकर्षण रूपमा रहेको छन् । विश्वमै दुर्लभ मानिएको हिमचितुवा समेत शे-फोक्सुण्डोमै रहेको छ । सबैभन्दा बढी भञ्ज्याङ, हिम शृंखलाहरू तथा छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको डोल्पा अधिकांशको रोजाइ हुँदै गएको छ । सडक सञ्जालसँग भर्खरै मात्र जोडिएको डोल्पामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम जारी छ ।

यो आर्थिक वर्षमा भारी संख्यामा पर्यटकहरूले डोल्पामा घुमेको तथ्यांक रहेको छ। सबैभन्दा देशका नीति निर्माण तहमा पुग्ने व्यक्तित्वहरू पुग्ने ठाउँमध्येको डोल्पाको फोक्सुण्डो, बाला त्रिपुरासुन्दरी पर्छन् । हप्ता दिनअघि मात्र कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बाला त्रिपुरासुन्दरी माताको दर्शन गरेका थिए ।

त्यस्तै उत्कृष्ट पर्यटकीय गन्तव्य रारालाई पनि लिइएको छ। यहाँ पनि भारी मात्रामा पर्यटकहरू घुम्न आउने गर्छन् । समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा तालको बयानमा धेरैले धेरै कुरा भनिसकेका छन् । २०२० सालमा राराको भ्रमण गरेपछि स्वर्गीय राजा महेन्द्रले २०२२ सालतिरै राराप्रति सम्मोहित बनेर राराको सौन्दर्य महिमा गाउँदै कविता नै लेखे-‘रारा कि अप्सरा !’ यस कविताबाट पनि राराको सौन्दर्य महिमा नाप्न सकिन्छ ।

पर्यटनको अथाह सम्भावना छ रारासँग । वैशाख जेठमा रारा गुराँसमय बन्छ । हिउँदमा हिउँले ढाकिएको हुन्छ । रारावरपरका सैपाल, छायानाथ, चंखेली, काञ्जीरोवा, पञ्चमुखी आदि हिमाल तथा हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यी चुचुराबाट कर्णाली प्रदेशका पाँच वटा जिल्ला (मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोट) र अन्य बाजुरा, अछाम, बझाङ र दैलेख गरी करिब नौवटा जिल्लाको भूभाग दृश्यावलोकन गर्न सकिन्छ, जसले गर्दा पर्यटकीय गन्तव्य र पर्यटन व्यवसायका लागि यी चुचुराले थप आकर्षण बढाएको छ ।

हिमालले तालको सौन्दर्यमा थप शोभा बढाइदिएको हुन्छ । दिन खुलेको बेला हिमालहरू ऐनामा जस्तै सीधै तालमा प्रतिबिम्बित हुन्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल हो । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ वटा जिल्लासमेत देख्न सकिन्छ । रारा तालको किनारै किनार पुरै एक फन्को मार्न ५ घण्टा लाग्छ ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारीसाधन प्रवेश निषेध छ । मिलीचौरमा सवारीसाधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ तर पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाको व्यवस्था छ ।

सवारीसाधन छोडेपछि करिब ३० मिनेटको यात्रापछि तालको छेउ पुग्न सकिन्छ । तालको छेउ पुगेपछि हिँडाइको थकान सबै मेटिने गर्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारीसाधनमा यात्रापश्चात् पुग्न सकिन्छ । अथवा नेपालगञ्जदेखि ४० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल अनि २ घण्टा पैदल यात्रापश्चात् रारा पुग्न सकिन्छ ।

यो आर्थिक वर्षको आखिरी समय आइपुग्दा अहिलेसम्म १० हजार पर्यटकले यहाँको घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो ।

पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् । अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव, उपसचिव, विदेशी कूटनीतिक नियोगका कर्मचारी, गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् ।

अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग र केही हवाईमार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । यहाँ घुम्न आउने पर्यटकबाट रु २६ लाख राजस्व उठेको छ । आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय प्रवेश शुल्क र बाह्य पर्यटकबाट प्रतिव्यक्ति ३ हजार प्रवेश शुल्क उठाउँदा २६ लाख जम्मा भएको निकुञ्ज अधिकृत दाहालले जनाए । निकुञ्जले प्रवेश शुल्क उठाउने र सुविधाको लागि संरचना निर्माणमा ध्यान नदिने गरेको पर्यटकको गुनासो छ ।

समस्या

पर्यटकलाई अझ आकर्षण गर्न रारा तालको वरपर घुम्न साइकल लेन बनाउने प्रयास सुरु भएको छ । यस प्रयोजनका लागि प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै बजेट विनियोजन गरे पनि आशातीत विकास भइसकेको छैन । यसले ताल क्षेत्रको संरक्षणमा कतिको असर पार्छ भन्नेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

रारा पुग्ने जोसुकै हुन्, यहाँको सौन्दर्यले मोहित हुन्छन् । उनीहरूले सामाजिक सञ्जालमा होस् वा आमसञ्चारका माध्यमबाट व्यक्त विचार निकै मननीय छन् । रारालाई प्रकृतिको अनुपम उपहार, स्वर्गको टुक्रा, पुग्नैपर्ने ठाउँ, कर्णालीकी रानी, देशकै वैभव, कर्णालीको वरदानजस्ता शब्दले राराको सौन्दर्यलाई शब्दमार्फत परख गरेको पाइन्छ ।

रारा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएकाले यस क्षेत्रमा पर्या–पर्यटकीय सम्भावनाको उजागर हुँदै गएको छ । सुन्दर दृश्य, मुगाली संस्कृति, चराहरूको वासस्थान आदिले यो क्षेत्रको आकर्षण झन् बढाएको छ । जसले गर्दा स्थानीयको जीवनशैलीमा शीघ्र परिवर्तन ल्याउन सकिने सम्भावना पनि प्रशस्त छ । उता फोक्सुण्डो जानका लागि दुनैबाट पैदल हिँड्न पर्छ । एक दिनभरी हिँडेर भोलिपल्ट बिहान तालको छेउमा पुग्न सकिन्छ । व्यवस्थापनको मामिलामा यहाँ निकै समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?