सैनिक कल्याणकारी कोषको मौज्दात ४१ अर्ब २९ करोड पुग्यो

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा नगद मौज्दात र विभिन्न आयोजनामा गरिएको लगानी गरी २०७५ सालको असार मसान्तसम्ममा कुल मौज्दात ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपियाँ रहेको छ ।

कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सैनिक कल्याणकारी कोष सबैभन्दा बढी नगद मौज्दात भएका संस्था हुन् ।  

सैनिक कल्याणकारी निर्देशनालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी निर्देशक सहायकरथी रघु भण्डारीले यही असार मसान्तसम्ममा कोषमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार र कोषद्वारा लगानी पाँचअर्ब ५२ करोड ५७ लाख ८७ हजार गरी यतिको रकम कुल मौज्दात रहेको जानकारी दिएका हुन् । 

नेपाली सेना संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी भए वापत प्राप्त एककरोड २४ लाख एकहजार नगद जम्मा गरी २०३२ सालमा सो कोष स्थापना गरिएको थियो । सहायकरथी भण्डारीले कोषको प्रमुख आयस्रोत बैंक निक्षेपबाट प्राप्त ब्याज रकम र शान्ति मिसनबाट प्राप्त रकम भएको बताएका छन् । 

कोषको नगद मौज्दातको ९९ प्रतिशथ रकम (क) वर्गको बैंकमा, शून्य दशमलव १० प्रतिशत रकम (ख) वर्गको र शून्य दशमलव ९० प्रतिशत रकम (ग) वर्गको बैकमा राखिएको जनाएको छ । ती बैंकहरुमा उच्च ब्याजदरको गोप्य शिलबन्दी गरी नगद मौज्दात गर्ने गरेको सेनाले जनाएको छ । 

कल्याणकारी निर्देशक भण्डारीले कोषको २२ करोड ९७ लाख ६७ हजार नगद मौज्दात समस्याग्रष्त चारवटा बैंकमा रहेकाले सो रकम पनि अशुलको चरणमा रहेको दाबी गरेको छ । 

सैनिक कर्मचारी तथा तिनका आश्रित परिवार र पूर्वसैनिक कर्मचारी तथा तिनका आश्रित परिवारको स्वास्थ्य, शिक्षा, स्वरोजगार तथा आवास सुविधाका लागि कल्याणकारी कोषले विभिन्न किसिमका आयोजना सञ्चालन गर्दै आएको छ । 

सैनिक प्रवक्ता गोकुल पोखरेलले राष्ट्रसेवक सैनिक कर्मचारीहरुको सेवाका लागि उनीहरुकै गाँस काटेर कल्याणकारी कोष स्थापना गरिएको बताएका छन् । उनले त्यसका अतिरिक्त गैर सैनिकका छोराछोरीहरुलाई पनि केही कोठा छुट्याई मेडिकल तथा उच्च शिक्षामा अवसर प्रदान गरिएको बताए । 

सैनिक कल्याणकारी कोषबाट सेनाले सैनिक आवासीय महाविद्यालय, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सैनिक चिकित्सा प्रतिष्ठान लगायत एक दर्जन आयोजनाहरु सञ्चालन गर्दै आएको छ । 

सेनाले ती आयोजनाहरु नाफा कमाउने उद्देश्यले नभई नितान्त सैनिक संगठन, राष्ट्र र राष्ट्रियताको सुरक्षा र सैनिक कर्मचारीका परिवारको हितका लागि भएको बताएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?