अर्थमन्त्रीको स्पष्टोक्ति : ‘साढे ११ बजे राति मन्त्रालयबाट पुल्चोक क्वाटरमा गएर आराम गरेँ’

लोकपथ
497
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि बाहिरी व्यक्तिको संलग्नता नरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै विनियोजन विद्येयकमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेटमा करका दर कसैले घटबढ नगरेको स्पष्ट पारे ।

करका दरहरु बढेका विषयमा आफूले पूर्ण रुपमा जिम्मेवारी लिने बताउँदै बजेट प्रस्तुत गर्ने अघिल्लो दिन को आए को गए भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए ।

त्यसैगरी बजेट निर्माणको क्रममा अघिल्लो दिन मध्यराती मन्त्रालयमा कोही बाहिरि मान्छे नआएको बताउँदै आफू साढे ११ बजे राति मन्त्रालयबाट निस्किएर पुलचोक गएर आराम गरेको स्पष्ट पारेका छन् ।

‘करका दरहरु बढाएको कुरामा जिम्मेवारी मैले लिने र त्यसको लािग सचिव र डिजिहरुसहित बसेर मिटिङ गरेको कुरा र त्यसमा कुनै अन्यथा नभएको कुरा कुन मान्छे भित्र आए कुन मान्छे भित्र गए मलाई थाहा हुने कुरा भएन ।’ अर्थमन्त्री शर्माले भने, ‘मैले साढे ११ बजे पछि पौने १२ बजे मैले पुलचोक क्वाटरमा गएर आराम गरेको छु र बिहान ६ बजे म मन्त्रालय गएको कुरा जानकारी गराउँदछु ।’

बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले बाहिरका मान्छेहरु लगेर करका दर हटाउन अधिकार दिएको भन्दै संसदमा निरन्तर आलोचना भइरहेको छ । सो क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अर्थमन्त्रीको राजीनामा समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?