नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दै

श्रीलंका । श्रीलंकामा एसिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवार पहिलो अभ्यास खेल खेल्दैछ । 

आर्मी स्पोर्ट्स क्लबविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले कप्तानी गर्दैछन् । 

अभ्यास खेलमा श्रीलंकाको आर्मी टिम विरूद्द टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा नेपालले पहिलो खेलमा नियमित कप्तान पारस खड्कालाई आराम दिएको छ ।

सोमबार श्रीलंका पुगेको नेपाली टोलीले आज (बुधवार) श्रीलंकाको स्थानिय क्लब आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । उक्त खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा हुने नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

नेपाली टोलीले श्रीलंकामा रहँदा त्यहाँको तीनवटा स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने छ । दोस्रो अभ्यास खेल यहि शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलंकाको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।

यही भदौ ११ गते नेपाली टोली श्रीलंकाबाट मलेसिया प्रस्थान गर्नेछ । 

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । वेस्ट इण्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दिप अभ्यास खेलमा सहभागी हुनेछैनन् ।

उनी वेस्ट इण्डिजबाट सोझै प्रतियोगिता खेल्न मलेसिया जानेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?