डेविड बेकह्याम ‘युइएफए’को प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित हुने

इंग्ल्याण्ड । इंग्ल्याण्डका पूर्वकप्तान डेविड बेकह्याम ‘युइएफए’को  प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित हुने भएका छन् । 

इंग्ल्याण्डको फुटबल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बेकह्यामलाई सो अवार्ड प्रदान गर्न लागिएको हो । 

बेकह्यामले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, एलए ग्यालेक्सी, रियल म्याड्रिड, एसी मिलान र पेरिस सेन्ट जर्मेनबाट २० वर्ष व्यवसायिक क्लब फुटबल खेलेका थिए । अहिले उनी फुटबलसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । 

‘युईएफए’ अध्यक्ष एल्केजेन्डर सेफेरिनले बेकह्याम आधुनिक युगका नायक भएको बताए । 

फुटबलमा सफलता हासिल गरेका र व्यक्तिगत रुपमा पनि पृथक पहिचान बनाएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिदै आएको छ । यसअघि यो अवार्ड योहान क्राएफ, बब्बी चार्ल्टन, फ्रान्ज बेकेन्बाउर, बब्बी रब्सन र पाओलो माल्डिनी प्रदान गरिएको थियो । 

बेकह्यामले राष्ट्रिय टिमका लागि १ सय १५ खेल खेल्दै १७ गोल गरेका थिए । उनले १० लिग उपाधि सहित क्लब फुटबलमा १९ उपाधि जिताएका थिए ।

बेकह्यामलाई यो वर्षको अन्त्यमा मोनाकोमा हुने कार्यक्रममा सम्मान प्रदान गरिने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?