मुलुकी एेन संशोधन गर्न माग

काठमाडौँ । मुलुकी ऐन नयाँ संस्करणले मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै संशोधनको माग गरिएको छ । 

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आज आयोजना गरेको ‘मुलुकी ऐन नयाँ संस्करण, मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ विषयको अन्तरक्रियाका वक्ताले ऐन संशोधन गर्न माग गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ऐन संशोधनको माग गर्दै भने, “सर्वोच्च अदालतबाट रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बोकेको मेरो गाडीलाई अदालत परिसरभित्र नै प्रहरीले शिल ग¥यो र उनलाई प्रहरीमा बुझाउन बाध्य तुल्याइयो ।”

नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले प्रजातन्त्रमा स्वतन्त्रता नै सबैभन्दा ठूलो भएको भन्दै ऐनको तुरुन्तै संशोधन हुनुपर्ने बताए । पत्रकार नरेन्द्रजङ्ग पिटरले ऐन लागू भएपछि पत्रकारले बोल्दा मुख थुन्नुपर्ने तथा लेख्दा कलम भाँच्नुपर्ने अवस्था आएको बताए । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले जनताको आवाज बन्द गर्ने नियतले ऐन ल्याएको आरोप लगाउँदै संशोधनको माग गरे ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकी ऐनको संहिताको २९३ देखि ३०८ सम्मको दफा सच्याउनुपर्ने माग गरे । उनले नेपाली नागरिक तथा पत्रकारको अधिकार कटौती गरिएको भन्दै सबै मिलेर कडा आन्दोलन गरेनौँ भने नेपालमा पत्रकारिता नरहने बताए ।

पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले यही भदौ १ देखि लागू भएको ऐनले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको बताउँदै ८० प्रतिशत जङ्गबहादुरकालका दफा रहेको यो कानून प्रेसप्रति कठोर भई खोजी पत्रकारितामा गर्न समस्या हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?