विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति

लोकपथ
221
Shares

काठमाडौं । राजधानीको खुशिबु नयाँबजार क्षेत्रमा विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति भएको छ । तर, नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन ढिलाइ गर्दा खानेपानीका पाइपलाइनको मर्मत एवम् पुनर्स्थापनाका लागि ढिलाइ भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता संघका अध्यक्ष लगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनर्स्थापना गर्न माग गरेका छन् । तर, प्राधिकरणबाट विद्युतलाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको क्षतिपूर्ति रकम प्राप्त नभएका कारण क्षति भएको खानेपानीको काम सम्पन्न गर्न नसकेको उनले बताएका छन् । त्यसले गर्दा सडकको समेत पुनर्स्थापनामा ढिलाई भइरहेको उनको भनाइ छ ।

उनका अनुसार खुशिबु क्षेत्रमा करिब २८ किलोमिटर खानेपानी पाइपलाइन विच्छ्याइएको मध्ये विभिन्न स्थानमा गरेर करिव १४ किलोमिटर खानेपानी पाइपलाइन विद्युतलाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको छ । त्यसको मर्मत सम्भारका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए । सो अनुरुप विद्युत लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएको खुशिबु क्षेत्रको रोपवे सडकको पहिलो चरणको मर्मत सम्भारको कार्य सम्पन्न गरी खर्चको सोधभर्नाका लागि प्राधिकरणलाई पत्राचार गरे पनि भुक्तानी नभएका कारण अर्को चरणको मर्मतसम्भारको काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

भेटकै अवसरमा आयोजना निर्देशकले वर्षायामलाई ध्यानमा राखी विद्युत लाइन भूमिगत गर्दा क्षतिग्रस्त भएकामध्ये मुख्य सडकलाई पहिलो प्राथमिकतामा राखी चरणवद्धरुपमा यथाशीघ्र सडक मर्मतसम्भार गर्न र प्राधिरणबाट सहमति बमोजिम क्षतिपूर्ति रकम प्राप्त गर्नका लागि ताकेता गर्न मातहतका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

विद्युतलाइन भूमिगत गर्दा क्षति पुगेका पाइपलाइनको मर्मतसम्भार एवम् पुनस्र्थापनाका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले भुक्तानी दिने सम्बन्धमा दुईपक्षबीच यसअघि नै सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?