गगन थापाले भने- ‘प्रधानमन्त्रीले एसपीपी नेपालमा लागू हुँदैन हुँदैन हुँदैन भनेर भन्नुपर्छ’

लोकपथ
1.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले नेपाल यस्ता किसिमका सामरिक विषयहरुमा प्रवेश गर्न नहुनेमा समेत जोड दिँदै प्रधानमन्त्रीले त्यस्ता विषयमा प्रवेश नगर्ने भन्दै जवाफ दिन आग्रह गरेका हुन् ।

पार्टी र देशले समेत यसअघिदेखि नै विभिन्न विवादित सामरिक विषयमा पन्छिएको इतिहास रहेको बताउँदै एसपीपीको विषयमा नेपालले त्यसबारे पछि हट्नुपर्ने बताए ।

‘सामरिक विषयमा शक्ति राष्ट्रहरुको छेउमा पनि जाने होइन । संविधानले यही भन्छ, हाम्रो इतिहासले हामीलाई यहि कुरा सिकाएको छ ।’ सांसद थापाले भने, ‘प्रधानमन्त्री मेरो पार्टीको सभापति पनि हो । पार्टीको निर्णय पनि यही हाम्रो पोजिसन पनि यहि हो । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको कुनै पनि कुरामा सामेल भएको छ न कहिल्यै हुन्छ । त्यसैले म के मान्दछु भने सम्मानीय प्रधानमन्त्री ज्यूले आजै यो बैठकमा आएर सम्माननीय प्रधानमन्त्री ज्यूको तर्फबाट आफैँले यस्तो प्रकृतीको सम्झौता अमेरिकाले के चाहन्छ भन्ने त्यो उसको कुरा । तर नेपालले गर्दैन, हुँदैन उहाँको आफ्नो शैलीमा हुँदैन, हुँदैन हुँदैन र गर्दैन गर्दैन गर्दैन भन्नुभएपछि यस विषयमा उठेको आशंकाहरु भ्रमहरु भयहरुको प्वालहरु टालिनेछन् ।’

नेपालको विकासका लािग सबै छिमेकी र मित्र राष्ट्रहरुसँग मिलेर काम गर्ने भए पनि एसपीपी जस्ता विषयमा भने नेपाल पछि हटिहाल्नुपर्ने उनको भनाइ रहेको छ ।

त्यसैगरी उनले फरक विषयमा बोल्दै उनले नेपालको सेयर बजारबाट मारमा परिरहेका सेयर लगानीकर्ताहरुको समस्या समाधान गर्न समेत आग्रह गरे ।

अमेरिकाले नेपालसँग सैन्य सहकार्य गर्न लागेको भन्दै १० बुँदे मस्यौदा सार्वजनिक भएसँगै त्यसको व्यापक आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?