प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का

लोकपथ
98
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन्। उनले दुई पक्ष सम्बन्धलाई थप मजबुत बनाउन,आपसी सम्बन्धलाई गति प्रधान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनको लागि दुई देशको भ्रमण तथा छलफलहरु अपरिहार्य रहेको दाबी गरे।

मन्त्री खड्काले दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध बिस्तार गर्न र देशको छवि बढाउन भुमिका खेल्ने बताए । मन्त्री खड्काले राजनीति तथा कुटनीति भ्रमण र भेटघाटको आयोजना गर्दा नेपालले अवलम्वन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेर गर्ने गरेको जिकिर गरे । उनले उच्च राजनीतिक तथा कुटनीतिक तहमा भएका भ्रमण भेटघाटले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको पनि बताए ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको मन्त्री खड्काले बताए। उनले नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुने भन्दै सरकार सार्वभौमसत्ता, स्वाधीनताप्रति गम्भीर रहेको बताए ।

मन्त्री खड्काले अमेरिकी जर्नेलको नेपाल भ्रमण ‘स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताए । उनले जर्नेलको भ्रमणमा कुनै एसपीपीमा हस्ताक्षर अर्थात अमेरिकी सैन्य गठबन्ध गर्ने विषय हल्ला मात्रै भएको दाबी गरे । नेपाली कांग्रेस नेतृत्वको सरकार स्वाभीमानी,राष्ट्रवादी र देशभक्ति सरकार भएको भन्दै मन्त्री खड्काले अहिले कुनै सैन्य गठबन्धन गर्ने आवश्यक नभएको बताए । उनले स्वाभीमानी, ,राष्ट्रवादी र मुलुकको हीतमा काम गर्ने सरकारले कुनै खालका सैन्य गठबन्धनमा नजाने जिकिर गरे ।

मन्त्री खड्काले सांसदहरुलाई केही पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्नसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?