काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिए । उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिस्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी गराए ।
मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताए । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएलअन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भइरहेको उनको भनाइ थियो ।
मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको समेत बताए ।
उनले भने, ‘मेलम्ची खानेपानी योजनाको हेडवक्र्स र अन्य संरचनाहरुमा मिति २०७८ असार १ गते तथा तत्पश्चातको बाढी पहिरोले अकल्पनीय क्षति पुर्याएको यहाँहरुमा अवगत नै छ । उक्त बाढि र पहिरोकै कारण आयोजनाको हेडवर्कससम्म पुग्ने पहुँचमार्ग क्षतिग्रस्त भई आवागमनमा पनि पूर्ण रुपमा क्षति भएको थियो । मेलम्चीमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनस्थापना गरी काठमाडौं उपत्यकाबासीलाई सरकारले घोषणा गरेबमोजिम नै चैत्र मसान्तभित्र मेलम्चीको पानी पठानान्तर गरी वितरण गरिएको थियो । यस अवधिमा आयोजनाअन्तर्गत हेडवर्क, सुरुङ, मेकानिकल गेटलगायतका संरचनाहरुको समेत मूल्यांकन गरिएको थियो । गत असारमा मेलम्ची जलाधारमा आएको बाढीपहिरोको कारण मेलम्ची खानेपानी योजनाको माथिल्लो तटीय क्षेत्रमा करोडौं घनमिटर गेगरान थुप्रिएको छ । उक्त गेगरान वर्षात्को मौसममा लेदोको रुपमा बग्ने सम्भावना रहेको र त्यस्तै किसिमको लेदोको कारण योजनाको हेडवर्कस पुरिएको र सुरुङमा समेत लेदो पसेको सफा गरी केही समय पानी संचालन गरिएको थियो । अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिस्टम र विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा योजना सञ्चालन वर्षा यामसम्मको लागि बन्द गरिएको हो । वर्षा याममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने वित्तिकै पानी संचालन गर्न सकिने, हाम्रो मन्त्रालयको योजना रहेकोे छ । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भइरहेको छ । मेलम्ची जलाधारको भौगोलिक अवस्थाको अध्ययन एशीयाली विकास बैंकको टोलीले गरिरहेको छ । र, अध्ययन प्रतिवेदन अनुसार पहिरो न्यूनिकरणका कार्यहरु आगामी आवबाट क्रमशः गर्दै जाने गरी बजेट व्यवस्थापन गरिएको छ । मेलम्ची खानेपानी योजनाको विकल्प र पुरकको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको छ । काठमाडौं उपत्यकाको चक्रपथभित्र जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँच पुर्याउन १ हजार २५० किलो मिटर पाइपलाइन वितरण सञ्जाल विछ्याइएको छ ।’
मन्त्री चौैधरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको पनि बताए । उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको पटक–पटक दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया