बिमष्टेक शिखर सम्मेलनको सुरक्षाका लागि पाँचहजार सुरक्षाकर्मी

काठमाडौँ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरुको प्रयास ‘बिमस्टेक–२०१८’ को चौथो शिखर सम्मेलनको शान्तिसुरक्षाका लागि करीव पाँचहजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । यो सम्मेलनलाई सुरक्षित र उपलब्धीमूलक बनाउन सरकार नै लागि परेको भनाई गृह मन्त्रालयको छ  ।

सुरक्षामा नेपाली सेनाका अतिरिक्त नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन हुने छन् ।

गृह मन्त्रालयले शिखर सम्मेलनमा सहभागी हुने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट अतिथिहरुको सुरक्षाकादेखि सम्मेलन अवधिभरका लागि विशेष सुरक्षा योजना नै तयार पारेको छ ।

बिमष्टेक सदस्य राष्ट्रहरु भारत, म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलङ्का र नेपालको सहभागिता हुने छ ।

सम्मेलनमा सहभागी हुन ती देशका राष्ट्र प्रमुखहरु १३ गते नै काठमाडौ आइपुग्ने जनाइएको छ ।

शिखर सम्मेलनका लागि छनोट गरिएको होटल सोल्टीमा १० गतेदेखि नै सुरक्षा ब्यवस्थामा कडाइ पारिेने जानकारी प्रहरीले दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि भिभिआइपीहरु ओहोर दोहोर गर्ने सडकमार्ग र वास बस्ने होटलहरुमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

सडकका खाल्डा खुल्डी पूर्नेदेखि विजुलीको पोलहरु र केवल तारहरु मिलाउने कार्य भइरहेको छ । सडक तथा वाल भित्ताहरुको मर्मतसम्भार र रंगरोगन कार्य जारी रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै सो सम्मेलनमा सहभागी हुन आउने भएपछि पुशपति धर्मशाला निर्माणस्थल, पुशपतिनाथक्षेत्रमा रंगरोगन भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र काठमाडौं महानगरपालिकाको संयुक्त समन्वय टोलीले सडकमा यत्रतत्र लत्रिएका तार मिलाउका साथै पोलहरु सोझ्याउने र बाँध्ने कार्य गरिरहेका छन् ।

शान्तिसुरक्षालाई प्रभावकारी बनाउन ठूलो संख्यामा सादा पोशाकको प्रहरी परिचालन गरिएको छ । केही राष्ट्रका अतिथिहरु होटल हायातमा समेत बस्ने भएकाले चुच्चेपाटी सडक खण्ड मर्मत गर्ने तयारी भइरहेको छ ।

सरकारले लाज ढाक्नलाई भएपनि सडकका खाल्डाखुल्टी टालटुल र मक्कीएका बांगीएका पोलहरु सोझ्याउने कार्य गरेको आरोप नगरवासीको छ ।

भिभिआइपीहरु सोल्टीमा नै बस्ने सम्भावना रहेकाले अन्यक्षेत्रको सडक पुन निर्माणमा सरकारले चाँसो समेत दिएको पाइएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?