आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)

लोकपथ
130
Shares

१  वर्षायाम सुरु हुनुभन्दा अगावै देशभर बाढी र पहिरोको जोखिम बढ्यो, यस वर्ष विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण ।

२  सप्तरीका मिटरब्याजी रामदेव तेलीमाथि चर्को ब्याज लिएर विपन्न सर्वसाधारणको शोषण गरेको आरोप, तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन ।

३  सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढायो, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडीभाडा बढाउने निर्णय गरेको यातायात व्यवस्था विभागको भनाइ।

४ आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने कुनै आश्वासन नदिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, आगामी प्रदेश र संसदीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी।

५  काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाइ, काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड।

६  मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई झलनाथ खनालको दबाब, पार्टीले मन्त्री हेरफेरको निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको भनाइ।

७  गृह मन्त्रालयका हाकिमका पत्नीहरु नै मिटरब्याज असुलीमा संलग्न भएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको आरोप, सरकारको बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरु नै बाधक देखिएको दाबी।

८  गोसाइँकुण्ड मेलामा एक हजार पाँच सयभन्दा बढी तीर्थयात्री सहभागी, कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले मनोकांक्षा पूरा हुनुका साथै जीवनभर गरेको पापबाट मुक्ति पाइने जनविश्वास।

९ नेपाल भित्रने रेमिट्यान्स बढ्यो, पछिल्लो १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको भनाइ।

१०  मुलुकको विदेशी मुद्रा सञ्चिति झनै घट्यो, पछिल्लो एक महिनामै २१ अर्बले गिरावट, मूल्यवृद्धि करिब ८ प्रतिशत पुग्यो।

११  साताको अन्तिम कारोबार दिन शुक्रबार पनि घट्यो सेयर बजार, नेप्से १४ दशमलव ६४ अंकले घट्दा एक अर्बको पनि भएन कारोबार।

१२  युगान्डामा देखियो भोकमरी समस्या, ५ लाख मानिस भोकमरीको चपेटामा, सहयोगका लागि राष्ट्र संघको आग्रह।

१३  रुसले आक्रमण सुरु गरेयता ६९ लाख युक्रेनीले देश छाडे, ८० लाख युक्रेनी देशभित्रै विस्थापित, रुस–युक्रेन युद्धका कारण युरोपमा हालसम्मकै ठूलो शरणार्थी समस्या उत्पन्न भएको राष्ट्र संघको भनाइ।

१४  नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा होमियो नेपाल भलिबल संघ, असार १० गतेभित्र जिल्ला र प्रदेशको निर्वाचन सक्ने निर्णय, जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरेसँगै केन्द्रीय निर्वाचनको मिति तय गर्ने संघको तयारी।

१५  आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित, ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको भनाइ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?