डलरको मूल्य हालसम्मकै उच्च, नेपाललाई कस्तो असर पार्ला ?

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार नेपालीले एक अमेरिकी डलर खरिद गर्नको लागि १२४ रुपैयाँ ७३ पैसा तिर्नुपर्नेछ । जुन हालसम्मकै उच्च रहेको छ । यसअघि गत जेठ ६ मा डलरभाउ १२४ रुपैयाँ ६७ पुगेको थियो ।

पछिल्लो समय डलरको भाउ दिनहुँ बढिरहेको छ । बिहीबार १२४ रुपैयाँ ६८ पैसा पुगेको डलरको मूल्य शुक्रबार पनि बढेको छ ।

डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँको अवमूल्यन हुन थालेको छ । डलरको भाउ बढ्दा नेपाली मुद्रा कमजोर बनेको छ । यसले आर्थिक संकटको सामना गरिरहेको नेपाललाई झनै चुनौती थपिने देखिन्छ ।

पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा सुधार आएसँगै डलरको मूल्य बढ्दै गइरहेको छ । विश्व बजारमा नै अमेरिकी डलरको बलियो हुँदै जाँदा यसले विश्वव्यापी मूल्यवृद्धि निम्त्याउने विज्ञहरू बताउँछन् ।

डलरको मूल्य किन बढिरहेको छ ?

विश्व तेल बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । तीन महिनाअघिदेखि चर्किएको रुस र युक्रेनबीच युद्धका कारण डलरको भाउ उच्चदरले बढ्दै गएको हो ।

रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

पछिल्लो केही दिनयता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महँगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

डलरको भाउ बढ्दा नेपाललाई के फाइदा हुन्छ ?

मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलिरहेको छ । डलरको भाउ बढ्दा रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलर बढ्दा रेमिट्यान्स आप्रवाहामा सकारात्मक प्रभाव रहन्छ । डलरको भाउ बढेमा पर्यटन क्षेत्र पनि राम्रो हुनेछ ।

नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् । त्यसको सकारात्मक प्रभाव रहन्छ । पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ । देशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्र पनि हो । डलरको भाउ बढ्दा पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि बढ्ने हुँदा यसले अर्थतन्त्रलाई फाइदा पुग्छ ।

डलरको मूल्य बढ्दा वस्तु तथा सेवा निर्यात गर्दा सकारात्मक प्रभाव रहन्छ । हुँदा नेपालको अर्थतन्त्र आयातमुखी छ । तर पछिल्लो समयमा वस्तु तथा सेवाको निर्यात बढिरहेको छ । त्यसैले वस्तु तथा सेवाको निर्यातलाई बढाउँदै लैजान सकेमा यसबाट राम्रो फाइदा उठाउन सकिन्छ ।

मूल्यवृद्धिको चिन्ता

नेपालको अर्थतन्त्र आयातमा आधारित छ । त्यसैले डलरको मूल्य बढ्दा हुँदा महँगी बढ्छ । नेपालले वर्षेनी खर्बौँको वस्तु तथा सेवा आयात गरिरहेको छ । भन्सार विभागको पछिल्लो १० महिनाको तथ्यांक हेर्ने हो भने नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ ।

गत आर्थिक वर्षको तुलनामा आयात २७ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । यसरी हेर्ने हो भने १० महिनाको अवधिमा मुलुकले १४ खर्ब ३१ अर्ब रुपैयाँ व्यापारघाटा बेहोरेको छ ।

मुलुकले चालू आर्थिक वर्षको १० महिनामा एक खर्ब ७३ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यद्यपि गत आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात भने बढेको छ । तर आयातको तुलनामा निर्यात एकदम थोरै छ ।

यसरी नेपालको अर्थतन्त्र आयातमा आधारित अर्थतन्त्र हुँदा डलरको मूल्यले नकारात्मक असर पर्न जान्छ । आयात बढेर विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्थामा डलरको मूल्य बढ्दै जाँदा यसले अर्थतन्त्रमा झनै संकट निम्त्याउने विज्ञहरू बताउँछन् ।

डलरको भाउ बढ्दा नेपालमा पनि आयातित सामानको मूल्य बढ्छ । व्यापारघाटा बढिरहेको अवस्थामा डलरको भाउ बढ्दा अन्तर्राष्ट्रिय व्यापारमा झनै दबाब पर्न जान्छ । डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई ठूलो नोक्सानी पर्न जान्छ ।

किन कमजोर बन्दैछ नेपाली मुद्रा ?

नेपालको विदेशी मुद्रा भारतसँग स्थिर रहेका कारण भारतीय मुद्रा कता जान्छ त्यहीअनुरूप नेपाली मुद्राले बाटो तय गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेल बताउँछन् । उनका अनुसार अहिलेको अवस्थामा वस्तुको मूल्यमा उतारचढाव भइरहेको, बैंकहरूले पोलिसी रेट उच्च बनाइरहेले नेपाली मुद्रासँग डलरको तुलना गर्दा धेरै कमजोर भइरहेको छ ।

भारतको मुद्रा र डलरबीच जुन किसिमले एक्सचेन्ज रेट तय हुन्छ त्यहीअनुसार नै नेपाली मुद्राको मूल्य तय हुने उनी बताउँछन् । नेपालको मुद्रा भारतसँग स्थिर रहेको र हामीहरू परनिर्भर रहेकोले यही कारणले नेपालले एक डलर किन्न धेरै तिर्नुप¥यो भन्न सक्ने हैसियत नरहेको उनले बताए ।
पछिल्लो ७÷८ महिनाको अन्तरालमा नेपाली मुद्रा कमजोर भइरहेको बताउँदै पोखरेलले अहिले संसारकै अर्थतन्त्र कमजोर भइरहेको बताए ।

के भन्छन् अर्थविद् ?
अर्थविद् डा. चन्द्रमणि अधिकारी नेपाली अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा मुलुकलाई समस्या हुने बताउँछन् । डलरको मूल्य बढेसँगै वस्तु तथा सेवाको मूल्यवृद्धि हुनेहुँदा जनजीवनमा असर पर्ने उनी बताउँछन् ।

‘डलरको भाउ बढ्दा कच्चापदार्थ, निर्माणका सामग्री, कृषिजन्य सामग्रीको पनि भाउ बढ्छ । हाम्रो मुद्रा कमजोर भयो भने समग्र क्षेत्रमा प्रभाव रहन्छ ।’

मुलुकमा विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्थामा डलरको मूल्य बढ्दा भोलि अत्यावश्यक वस्तु खरिद गर्न समेत नसकिने उनले बताए ।
‘हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ । दैनिक उपभोग्य वस्तु समेत आयात गर्नुपर्ने अवस्था छ । खानेतेलदेखि लिएर पेट्रोलियम पदार्थसम्म आयात गरिराखेका छौँ । पेट्रोलियम पदार्थको आयातमा समस्या हुँदा समग्र अर्थतन्त्रलाई नै असर पर्छ । हाम्रो दैनिक जीवनलाई नै असर पर्छ । मुलुकमा विनिमय सञ्चिति घटिरहेको अवस्थामा डलरको मूल्यवृद्धिले थप समस्या ल्याउँछ’, उनले भने ।

डलरको अभावले स्वास्थ्य, शिक्षा, कृषिलगायत मुलुकको समग्र अर्थतन्त्रलाई नै प्रभाव पर्ने उनले बताए ।

‘निर्यातमुखी अर्थतन्त्र थियो भने डलर बढ्दा फाइदा नै पुग्थ्यो । तर नेपालको अर्थतन्त्र आयातमुखी छ । विप्रेषण बढेको जस्तो देखिन्छ । तर मूल्य बढ्ने हुँदा विप्रेषण बढेको जस्तो देखिए पनि यसबाट खासै फाइदा हुँदैन’, उनले भने, ‘एकातिर वैदेशिक मुद्राको सञ्चिति घट्ने, अर्कोतिर डलरको मूल्य बढ्ने हुँदा दुईटै कुराको चापमा हाम्रो अर्थतन्त्र परेको छ । यसलाई हामीले समयमै जोगाउन सकेनौँ भने अर्थतन्त्र झनै संकटतर्फ धकेलिन्छ । अर्थतन्त्रमा दोहोरो तेहेरो चाप पर्छ ।’

यसको समाधानको लागि मुलुकको आन्तरिक उत्पादन बढाउनतर्फ उनको जोड छ । स्वदेशमै रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने उनी बताउँछन् ।

‘नेपाली मुद्रा बलियो हुनको लागि हाम्रो आन्तरिक उत्पादन बढाउनुपर्छ । आन्तरिक उत्पादन बढाउन युवालाई विदेशिनबाट रोक्नुपर्छ । उनीहरूलाई यही बस्ने वातावरणको सिर्जना गर्नुपर्छ । कृषि उत्पादन बढाउनुपर्छ, औद्योगिक उत्पादन बढाउनुपर्छ, घरेलु उद्योगहरूलाई प्रवर्द्धन गराउनुपर्छ’, अर्थविद् अधिकारीले भने ।

नेपालमा ठूला तथा पहुँच भएका घरानाका व्यक्तिहरूलाई सहयोग गर्ने तर सानालाई सहयोग नगर्ने प्रचलन बढिरहेको उनको बुझाइ छ । यही प्रचलन बढ्दा आन्तरिक उत्पादन बढ्न नसकेको उनको तर्क छ । विदेशी लगानीलाई भित्र्याउन पहल गर्नुपर्ने र रेमिट्यान्स आप्रवाह बढाउन प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । कृषि र उद्योगमा उत्पादन बढाउन लागेमा अर्थतन्त्रमा सहज बन्दै जाने र मुद्राको मूल्य पनि बढ्दै जाने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?