काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेयले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार लागेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले सरकारले ६ महिनाको अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्यदेखि सुन तस्करीको छानबिनमा उत्कृष्ट प्रगति गरेको बताए । “नागरिकको प्रतिव्यक्ति आय र कृषि क्षेत्रमा पाँच वर्षमा दोब्बर हुने गरी सरकारले काम गरिरहेको छ,”– उनले भने ।
पूर्वमन्त्री पाण्डेयले वर्तमान केपी शर्मा ओलीको सरकारका ६ महिना सफल र उल्लेख्य रहेको उल्लेख गरे । “सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ,”–उनले भने ।
नेपाली काङ्ग्रेसका नेता डा नारायण खड्काले अघिल्लो सरकारले गरेका कामलाई वर्तमान सरकारले उपलब्धिका रुपमा लिएको बताए । “केही नयाँ कामहरु गरे पनि धेरै कामहरु अघिल्लो सरकारले थालेका कामको निरन्तरता हो,” उहाँले भन्नुभयो । सरकार आफ्नो काममा अलमलिएको उहाँको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता वृशेषचन्द्र लालले वर्तमान सरकारलाई राजपाले विश्वासको मत दिए पनि सरकारले संविधान संशोधन र मधेशमा देखिएका समस्या समाधानमा ध्यान नदिएको बताए ।
“सरकारले संविधान संशोधन, मधेशका मुद्दा, आदिवासी, दलित, थारुका समस्या नकार्न खोजेको छ,” उनले भने । सङ्घीयता बलियो बनाउनका लागि सबैलाई मिलाएर लैजाने दायित्व वर्तमान सरकारको भएको उनले भनाइ थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया