राप्रपाले सक्रिय सदस्य वितरण अभियानलाई तीव्रता दिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिए । यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सह(महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रा लगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरे । यो अभियानको आज शुभारम्भ भएको हो, यो निरन्तर जारी रहनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले नयाँ सरकार बने यताका छ महिनाका क्रियाकलापले राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासनको आवश्यकता बढेर गएको प्रमाणित हुँदै गएको बताउनु भयो । उहाँले जनताको ढाँड सेक्ने गरि भइरहेको करवृद्धि र सामान्य सुझबुझ समेत नराखी लागू गरेको मुलुकी देवानी संहिता लगायतका विषयले जनतामा असन्तुष्टि बढ्दै गएको पनि बताउनु भयो । दुई तिहाइको सरकारले जनताको आशा अनुरुप सामान्य उज्यालो पनि देखाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले संघीयताको बाहक शक्तिहरुले नै संघीयता ठिक नरहेको बताउन थाल्नु, राजसंस्थाको आवश्यकताको बारेमा बहस प्रारम्भ हुन थाल्नुले राप्रपाले अबलम्बन गरेको नीति सहि भएको बताए । अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता मुलुकले धान्न नसक्ने दोहोर्‍याए ।

गत जेठमा बिरगंजमा सम्पन्न केन्द्रीय परिषदको बैठकले निर्देश गरे बमोजिम र त्यस लगत्तै काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय अनुसार संगठन विभागले कार्यविधि बनाइ अभियानको शुरुआत गरेको हो ।

नयाँ व्यवस्था अनुसार पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको छ । राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिदैछ ।

राप्रपाले सक्रिय सदस्य कै आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ, यसअघि गाउँ, नगर, क्षेत्र, जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई परिवर्तन गरि यो नयाँ गर्न छलफल थालिएको हो ।

राप्रपाले पार्टीलाई प्रजातान्त्रिक र समावेशी बनाउन विधान मै परिमार्जन गर्न लागेको छ । बिरगंजमा गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठक मै यसबारे बृहत छलफल भएको थियो, विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक समिति गठन गरिएको छ जसले सरोकारवाला पक्षसँग छलफल र अन्तर्क्रिया गरि केही दिन मै विधान संशोधनको अन्तिम प्रतिवेदन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गर्ने तयारी पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?