काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालवाहक तथा यात्रुवाहक सवारीको भाडादर बढाएको जनाएको छ ।
यसअघि ११ जेठमा यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रुवाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३ दशमलव ७ प्रतिशतले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो ।
विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया