काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन् ।
शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन् ।
उनले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरुलाई अनुरोध गरिन् । शुक्रबार बिहान सिसडोलवासीसँग शहरी विकास मन्त्री, प्रधानमन्त्री कार्यालयका सचिवलगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुसहितको वार्ताटोलीले फोहोर उठाउने सहमति गरेको छ ।
छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन् । उनले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाइन् । मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागजभन्दा पनि काममा विश्वास गर्न आग्रह गरिन् । उनले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताइन् ।
उनले भनिन्, ‘उहाँले भन्नुभयो, हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ गर्यौं अहिलेसम्म । तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइटभन्दा किन्ने, बिक्री गर्ने कानुन, कार्यविधि, मेकानिज्म बनाउनु पर्छ । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने त्यसपछि फर्किएर नजाने यो समस्या र प्रवृत्ति छ । अब हामीले स्थायी रुपमा नै समाधान खोजेको भएर हामी सही बाटोतर्फ जाँदैछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु । हामीले धेरै सम्झौता र कागज गर्यौं तर अब कागज होइन, काममा विश्वास गरौँ । हामीले फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाऔँ । सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहोर्याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेन्ट छ । फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन । यसको अनुगमन, नियमन, कडाइ गर्ने काम गर्नेछौँ । तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ । सपोर्टको लागि अनुरोध गर्न चाहन्छु । मिडियामा बनाएका धारणाबाट बाहिर निस्किएर काम गरौँ । फागुन २६ कै कार्यदिशामा टेकेर हामी योजना बनाउँछौँ र त्यसमा चुक्दैनौँ । फोहोर आजबाट नै उठाऔँ ।’
काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रवार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया